Hamro Patra
एमाले टीकापुरले दश बुँदे मागपत्र बुझायो

टीकापुर, बैशाख २३
नेकपा एमाले टीकापुर नगर कमिटीले विभिन्न १० बुँदे माग सहित पार्टी महासचिव मार्फत प्रधानमन्त्रीलाई माग पत्र बुझाएको छ । 

माग पत्र नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई पार्टी महासचिव शंकर पोखरेल मार्फत बुझाईएको हो । पोखरेल आजदेखी टीकापुरमा सुरु भएको भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो महाधिवेशनको उद्घाटन गर्न पुगेका हुन ।  

पार्टीले बृहत कर्णाली तटबन्धका लागि बजेट विनियोजन, टीकापुर क्षेत्रमा रहेका १० हजार मुक्त कमैया, भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान, कर्णाली चिसापानीदेखी जंगलघाट हुँदै अछामको मंगलसेन सडकमा बजेट माग गरिएको छ । 

1000130656-1746541398.jpg
 

त्यस्तै सेती लोकमार्गलाई गौरवको आयोजना घोषणा गरी प्राथमिकतामा राखेर निर्माण, टीकापुरका व्यवस्थित शहरीकरण योजना भित्रका सबै ब्लकहरुमा भूमिगत बिजुली सहितको सडक पूर्वाधार निर्माणका लागि एकमुष्ट शहरी विकास आयोजना लागु गर्न समेत माग गरिएको छ । 

मागपत्रमा विमानस्थल कालोपत्रे, कर्णालीको पानी कैलालीबासीलाई भन्ने बृहत खानेपानी आयोजना, कर्णाली मोहनाको दोभानदेखी खिमडीसम्म जलयात्राका लागि पानी जहाज चल्ने योजना, सत्ती भन्सारमा क्वारेन्टाईन स्थापना र जिल्लाको पूर्वी भेगका जनताहरुलाई सरकारी कार्यालयबाट प्रवाह हुने यातायात लगायतका अन्य सबै सुविधाहरु एकै ठाउँबाट प्राप्त गर्ने गरी एकिकृत सेवा केन्द्र कार्यालय स्थापनाको माग राखिएको छ । 

नगर अध्यक्ष लक्ष्मण थापा र निवर्तमान नगर प्रमुख तपेन्द्रबहादुर रावलले हस्ताक्षर सहित मागपत्र बुझाएका छन ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update