
धनगढी, बैशाख २८
कैलालीमा युवती करणीको आरोपमा दुई जना पक्राउ परेका छन । चुरे गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मानसिक अवस्था अस्वस्थ भएकी किशोरीमाथि दुई जनाले करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार पीडित किशोरी गर्भवती रहेको पाइएको छ । स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ रहेको पुष्टि भएपछि घटना बाहिर आएको हो ।
डीएसपी चन्दले अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र दोषी को हुन् भन्ने विषयमा थप प्रमाण संकलन भइरहेको समेत बताए ।
पीडितको सुरक्षाका लागि र अनुसन्धान प्रभावित नहोस् भनेर आरोपितहरूका नाम हाल सार्वजनिक नगरिएको बताइएको छ । तथापि, उनीहरूको परिचय केही दिनभित्र सार्वजनिक गरिने डीएसपी चन्दले बताएका छन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।