
टीकापुर, बैशाख २९
टीकापुर अस्पतालको प्रयोगशालामा बिरामीको स्वास्थ्यसँग खेलवाड गर्ने गरेको पाईएको छ । स्रोतका अनुसार सो प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग भैरहेको छ । एकवर्ष अघि नै म्याद सकिएको केमिकल प्रयोग भैरहेको स्रोतको दावी छ ।
प्रयोगशाला इञ्चार्ज मरिचमान भूलले यो कुरा स्विकारेका छन । उनले आफूले समेत करिव एक महिना म्याद गुज्रिएको केमिकल प्रयोग गरेको बताए । उनी २०८१ माघ २ गते प्रयोगशाला ईञ्चार्ज भएका हुन । त्यसअघि ईञ्चार्जको जिम्मेवारीमा गणेश ऐर थिए । उनलाई हाल अर्को जिम्मेवारीमा पठाईएको छ ।
स्रोतका अनुसार ईञ्चार्ज ऐरले लामो समयदेखी म्याद गुज्रिएको केमिकल प्रयोग गर्दै आएका थिए । नेशनल पब्लिक हेल्थ लेब्रोटरीले २०८१ जेठमा गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखेपछि प्रयोगशाला बन्द गर्न सुझाव दिएको थियो । उसले प्रयोगशालाले बिरामीको स्वास्थ्यलाई झन समस्यामा पार्न सक्ने भनेको थियो ।
प्रयोगशाला सञ्चालनमा लापरवाही गरेको ठहर गर्दै अस्पताल विकास समितिले ऐरलाई जिम्मेवारीबाट हटाएर भूललाई ईञ्चार्ज बनाएको छ । उनी २०८१ माघ २ गतेबाट ईञ्चार्ज छन । उनले इञ्चार्जको जिम्मेवारी पाएपछि प्रयोगशालाको गुणस्तरमा सुधार गरेको दावी गरेका छन । ‘म भन्दा अघि धेरै ठूलो समस्या थियो’ उनले भने–‘अहिले सुधार भएको छ ।’ उनले सुधार भएकै कारण अहिले सुदूरपश्चिममै उत्कृष्ठ प्रयोगशालाको अवार्ड समेत पाएको बताए ।
उनले करिव एक महिना आफूले समेत सोही केमिकल प्रयोग गरेको बताए । उनका अनुसार केमिकल बाह्य देशबाट मगाउनु पर्ने हुन्छ । उनले म्याद गुज्रिएको केमिकल प्रयोग गर्दा पनि बिरामीको रिपोर्टमा कुनै समस्या नदेखिएको बताए । उनले टेकु प्रयोगशालाबाट क्रस चेक गर्दा यस्तो देखिएको बताए । ‘टेकु प्रयोगशालाबाट ल्याएर चेक गरे । रिपोर्ट ठिकै देखियो’ उनले भने–‘ल ठिकै छ भनेर मैले पनि केही समय प्रयोग गरे ।’
टीकापुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष झपट सोडारीले प्रयोगशालामा भएको बदमासी स्विकारेका छन । उनले समेत तत्कालिन ईञ्चार्ज ऐरले लापरवाही गरेको बताए । उनले आवश्यकता भन्दा बढी केमिकल मगाएर थुपारेका कारण म्याद गुज्रिएको बताए ।
‘कति मगाउने ? के मगाउने ? सबै उसैको जिम्मेवारी हुन्छ’ उनले भने–‘ऐरले लापरवाही गरेका कारण त्यस्तो समस्या आएको थियो ।’
निवर्तमान अध्यक्ष सोडारीको कार्यकाल २०८१ चैत १२ गते सकिएको छ । उनले अस्पतालको अवस्था सुधार गरेको दावी गर्ने गरेका छन । तर स्रोतले अस्पताल भित्र यस्ता कैयौं कमिकमजोरी हुने गरेको बताएको छ ।
विगत लामो समयदेखी अस्पताल भित्र चिकित्सक र कर्मचारीहरुबीच गुटबन्दी रहेको बताईन्छ । केही व्यक्तिहरुले अस्पतालको विकास भन्दा पनि आफू अनुकुल काम गर्ने गरेको स्रोतको भनाई छ । यस बारेमा बुझ्न खोज्दा अस्पतालका मेसु डा. रेमकुमार राईसँग टेलिफोन सम्पर्क हुन सकेन ।