Hamro Patra
गणेश ऐरले भने ‘म्याद सकिएको केमिकल मैले नै थन्काएर राखेको थिए । अहिलेकाले प्रयोग गरेका हुन’

टीकापुर, बैशाख ३०
टीकापुर अस्पतालको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल प्रयोग गरेको आरोप लागेका गणेश ऐरले आरोप अस्विकार गरेका छन । उनले आफू ईञ्चार्ज हुँदा म्याद सकिएपछि थन्काएर राखेको सो केमिकल प्रयोग भैरहेको देखेपछि आफैले माथिल्लो निकायमा जानकारी दिएको बताए । 

उनलाई २०८१ माघ २ गते ईञ्चार्जबाट हटाईयो । त्यसपछि उनी प्रयोगशाला अन्र्तगतकै रिपोर्टिङ फाँटमा कार्यरत छन । उनका अनुसार एकदिन थन्काएर राखेको केमिकल प्रयोग भैरहेको भेटियो । उनले प्रयोग नगर्न सुझाव दिँदा धम्कीको सामना गर्नु पर्यो । 

उनले यसबारेमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुको ग्रुपमा जानकारी दिए । त्यहाँ उनको कुराको कसैले वास्ता गरेनन् । उनले त्यसपछि मात्रै अस्पताल विकास समितिका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको ग्रुपमा सो बारेमा जानकारी गरेको बताए । 

उनका अनुुसार सो केमिकल ५०० थान वयश्क र ५०० थान बालबालिकाका लागि मगाईएको थियो । त्यसको म्याद २०८१ असारसम्म थियो । त्यतिञ्जेलसम्म ५०/६० थान बचेको थियो । ‘म्याद सकिए पछि प्रयोग गर्ने कुरा भएन’ उनले भने–‘मैले प्रयोग नगर्ने भनेर थन्काएर राखेको थिए ।’

उनले पुष अन्तिम सातासम्म थप केमिकल मगाएर काम गरेको बताए । त्यसपछि आफूलाई पूर्वाग्रही ढंगले ईञ्चार्जबाट हटाईएको दुखेसो पोखे । उनले आफूलाई हटाएर सेवाकालिनमा आएको व्यक्तिलाई ईञ्चार्ज बनाएको बताए । 

‘जहाँ पनि काम गर्नु त हो भनेर चुपचाप काम गर्दैछु’ उनले भने–‘यो ठाउँमा धेरै राजनीति हुँदो रहेछ । म बाहिरबाट आएको भनेर विभेद भैरहेको छ ।’ 

उनी सामाजिक विकास मन्त्रालयको करार कर्मचारी हुन । उनी ल्याब टेक्नोलोजी सातौ तहको कर्मचारी हुन । उनी २०७९ बाट टीकापुर अस्पतालमा कार्यरत छन । 

उनले आफू पछि ईञ्चार्ज भएका मरिचमान भूलले नै म्याद सकिएको केमिकल प्रयोग गरेको बताएका छन । भूलले अभावका कारण सो केमिकल प्रयोग गरेको स्विकारेका छन । तर भूलले ऐरकै पालादेखी प्रयोग भैरहेको आरोप लगाएका थिए । ऐरले भने आफूले म्याद सकिए पछि थन्काएर राखेको अवस्थामा भूलले नै प्रयोग गरेको पाईएको बताए । 

ईञ्चार्ज भूलले केमिकलको म्याद सकिए पनि त्यसको रिपोर्ट भने सही हुने गरेको दावी गरेका छन । प्रयोगशालामै कार्यरत एक अर्का स्वास्थ्यकर्मीले समेत म्याद सकिए पनि रिपोर्ट गलत नभए सो केमिकल प्रयोग गर्दा मानव स्वास्थ्यमा कुनै असर नपार्ने जिकिर गरे । उनले आफ्नो विज्ञताले सो केमिकल प्रयोग गर्दा कुनै समस्या नहुने दावी गरेका छन । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update