Hamro Patra
अस्पतालको घटनाक्रम प्रति काँग्रेसको ध्यानाकर्षण

टीकापुर, जेठ १
नेपाली काँग्रेसले टीकापुर अस्पतालमा पछिल्लो समय भएका घटनाक्रम प्रति प्रशासनको ध्यानाकर्षण गराएको छ ।

नेपाली काँँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाह नेतृत्वको टोलीले आज इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापालाई भेटेर ध्यानाकर्षण गराएको हो । 

भेटका क्रममा सभापति शाहले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पताल जस्तो संवेदनशील ठाउँमा गलत काम हुनु दुर्भाग्य भएको बताउँदै रोकथामका लागि पहल गर्न आग्रह गरेका छन । 

उनले प्रयोगशालामा म्याद सकिएको केमिकल प्रयोग हुँदा बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र त्यसले गम्भिर दुर्घटना निम्त्याउन सक्ने भएकाले सचेत हुनुपर्ने बताए । 

उनले अस्पताल व्यवस्थापन समितिले गरेका निर्णय लुकाईनुले पनि अस्पताल भित्र केही गलत भएको हुनसक्ने आशंका उब्जिएको बताउँदै सत्यतथ्य छानविन गर्न आवश्यक देखिएको बताए । 

उनले अस्पताललाई हानी नोक्सानी हुने खालका कुनै निर्णय भएको भए त्यसलाई बदर गर्न समेत माग गरेका छन । उनले सरकारको कानून कार्यान्वयन गर्ने गराउने सरोकारवाला निकाय भएका कारण प्रशासन कार्यालयले गलत काम कारवाही रोक्ने तर्फ ठोस कदम चाल्नुपर्ने बताए । 

‘प्रशासनलाई गलत गर्नेलाई कारवाही गर्ने अधिकार छ’ उनले भने–‘कोही कसैले गलत गरेको छ भने कानून बमोजिम कारवाही गर्न डराउनु हुँदैन ।’

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख थापाले आफू अस्पतालमा भएका घटनाक्रम प्रति गम्भिर ढंगले अनुसन्धान गरिरहेको बताए । उनले मेसु डा. रेमकुमार राईले कमी कमजोरी सुधार्ने तर्फ लागेको मौखिक जवाफ दिएको बताए । 

उनले गलत गर्ने छुट कसैलाई नभएको बताउँदै गलत गर्ने जोसुकै भएपनि कानूनी कारवाहीको भागेदार हुने बताए । 

क्षेत्रीय सभापति शाह नेतृत्वको टोलीमा काँग्रेस महाधिवेशन प्रतिनिधि चेतमान खत्री, क्षेत्र नं. १ का सचिव धनञ्जय रिमाल, काँग्रेस टीकापुरका सभापति नरेशकुमार खत्री, तरुण दल क्षेत्र नं. १ का सभापति कल्पेश कुँवर, उपेन्द्र खनाल लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update