Hamro Patra
उन्मुक्तिको विवाद सतहमाः रञ्जिताको आदेश टेरेन संसदीय दलले

टीकापुर, जेठ १
रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा फेरि विवाद शुरु भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने विषयमा पार्टी संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधरबिच विवाद देखिएको हो । 

मन्त्री बनाउनका लागि अध्यक्ष श्रेष्ठले बुधबार कैलाश चौधरीको नाममा सिफारिससहित निर्देशनात्मक पत्र पठाएकी थिइन् । तर संसदीय दलले त्यसलाई कार्यान्वयन नगरेपछि उन्मुक्तिको विवाद फेरि सतहमा आएको हो । 

अध्यक्षको पत्रपश्चात् दिनभरि बसेको संसदीय दलको बैठकले अबेर रातिमात्रै बहुमतको आधारमा दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । दलका प्रमुख सचेतक इन्दिरा गिरीले बहुमतका आधारमा निर्णय गरेर चौधरीलाई मन्त्री बनाउनका लागि नाम सिफारिस गरेको बताइन् । 

सो बैठकमा गिरीसहित घनश्याम चौधरी, रामेश्वर चौधरी र खुशीराम डङ्गौरा गरी चार जनाको उपस्थिति रहेको थियो । सातमध्ये दुई जना प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी र टीका थापा काठमाडौँ रहेकाले बैठकमा उपस्थित नभएको जनाइएको छ । अर्का प्रदेश सभा सदस्य कैलाश चौधरी भने बैठकमा सहभागी भएनन् । 

संसदीय दलको बैठकबारे आफूलाई जानकारी नै नभएकाले बैठकमा उपस्थित नभएको चौधरीले बताए । उनले भने ‘मलाई बैठकबारे जानकारी नै भएन । पार्टी अध्यक्षले मेरो नाम सिफारिससहितको पत्र पठाएपछि चित्त नबुझ्दा मलाई छलफलका लागि बोलाउनु पर्दथ्यो । तर बोलाइन । अध्यक्षले मेरो नाम सिफारिस गर्नुलाई एकदम सकारात्मक रूपमा लिएको छु’ उनले भने ।  

आफ्नो पक्षको बहुमत देखाएर संसदीय दलको नेताले एकलौटी काम गर्न खोजिरहेको चौधरीको आरोप छ । ‘दलको नेता उहाँ नै, समितिको सभापति पनि उहाँ नै, मन्त्री पनि उहाँ नै बन्न खोज्ने, यो त संसदीय दलको नेतामा हुनु पर्ने गुण होइन’ उनले भने । 

तर पार्टी अध्यक्षले सिफारिस गरेको पत्रको आधारमा मन्त्रीको नाम सिफारिस गर्नुभन्दा पनि संसदीय दलले आफ्नो अधिकार प्रयोग गर्नु उचित रहेको प्रमुख सचेतक गिरीको भनाइ छ । ‘पार्टी अध्यक्षले पठाएको नामभन्दा पनि संसदीयले बहुमतको आधारमा नाम पठाउनुलाई हामी मिलेर गएको बुझ्नुस’ उनले भनिन् ‘यो विवाद होइन । हामी मिलेर गएको हो ।’

संसदीय दलले नाम सिफारिस गरे पनि घनश्याम चौधरी आफू मन्त्री बन्न इन्कार गरेको श्रोतको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update