Hamro Patra
अस्पतालका मेसुले टेरेनन् इलाका प्रशासनलाई 

टीकापुर, जेठ १
इलाका प्रशासन कार्यालय टीकापुरलाई अस्पतालका मेसु डा. रेमकुमार राईले अटेर गरेका छन । उनले टीकापुर अस्पताल व्यवस्थापन समितिले गरेका निर्णय उपलब्ध गराउन कार्यालयले गरेको पत्राचारलाई अटेर गरेका हुन । 

मेसु राईले तेस्रो दिनसम्म पनि प्रशासन कार्यालयले माग गरेका निर्णय उपलब्ध नगराएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापाले जानकारी दिए । उनका अनुसार कार्यालयले निर्णय उपलब्ध गराउनु भन्दै बैशाख ३० गते अस्पताल प्रशासनलाई पत्राचार गरेको थियो । 

प्रशासनले व्यवस्थापन समितिको २०८१ माघ ११ गते र चैत ७ गते बसेको बैठकले गरेका निर्णय माग गरेको थियो । इलाका प्रशासन कार्यालयको कार्यालय प्रमुख व्यवस्थापन समितिको पदेन सदस्य रहने व्यवस्था छ । 
बैठकमा भएका निर्णय प्रति असहमति जनाउदै कार्यालयले अस्पताललाई पत्र पठाएको थियो । प्रशासनको पत्रको प्रतिउत्तरमा अस्पतालले बहुमत सदस्यले गरेको निर्णय भएको र ती निर्णयहरु कार्यान्वयनको चरणमा रहेको जानकारी दिएको थियो ।

कानून कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी बोकेको प्रशासन कार्यालयले असहमति जनाएका निर्णयका बारेमा अस्पतालले बहुमतको दम्भ देखाए पछि पत्राचार गरेर निर्णय माग गरेको छ । 
‘विधि भन्दा माथि त को होला र ?’ कार्यालय प्रमुख थापाले भने–‘कसैले कानून कार्यान्वयन गर्दैन भन्यो भने कानूनी समस्या बढ्दै जान्छ ।’

उनले निर्णय माग गरेको बारेमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीलाई बोधार्थ दिईएको जानकारी दिए । उनले मन्त्रालय र जिल्ला प्रशासनले समेत यस बारेमा अध्ययन गरिरहेको र सोही अनुसार प्रस्तुत हुने बताए । 

उनले मेसुले नियतवश निर्णय दिन नचाहेको जस्तो देखिएको बताए । उनका अनुसार नियत स्पष्ट भए निर्णयको कपी गरेर एक पत्र पठाउन तीन दिन लाग्दैन थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update