Hamro Patra
वीरेन्द्र क्याम्पसका सबै विद्यार्थीले क्याम्पसमै परीक्षा दिन पाउने

टीकापुर, जेठ २
कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर क्याम्पसका नियमित र आंशिक गरी सबै विद्यार्थीहरुले अब क्याम्पसमै परीक्षा दिन पाउने भएका छन् । 

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसका नियमित विद्यार्थीहरुले क्याम्पस परीक्षा दिए पनि आंशिक विद्यार्थीहरुले परीक्षा दिन लम्की तथा सुख्खड जानुपर्ने बाध्यता रहँदै आएको थियो । 

विश्वविद्यालयको परीक्षा नियन्त्रण केन्द्रले क्याम्पसका आंशिक विद्यार्थीहरुको परीक्षा केन्द्र लम्की र सुख्खडमा कायम गरेपछि आंशिक विद्यार्थीहरु परीक्षा दिन लम्की बहुमुखी क्याम्पस र घोडाघोडी बहुमुखी क्याम्पस सुख्खडसम्म जानुपर्ने बाध्यता अन्त्य भएको क्याम्पस प्रमुख हर्क भण्डारी जानकारी दिए ।  

‘नियमित परीक्षा क्याम्पसमै सञ्चालन भए पनि आंशिक विद्यार्थीलाई लम्की र सुख्खड पठाउनु परेको थियो’ क्याम्पस प्रमुख भण्डारीले भने ‘टियुले सूचना प्रकाशित गर्दै नियमित र आंशिक विद्यार्थीका लागि पूर्ण परीक्षा तोकेको छ, यसले विद्यार्थीलाई थप सहज भएको छ ।’ 

क्याम्पसका स्ववियु सभापति गोपाल खत्रीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परीक्षा केन्द्र कायम हुन उपलब्धीपूर्ण भएको बताएका छन् । 

क्याम्पसमा १ हजार ६ शय बढी विद्यार्थीहरु अध्ययनरत छन् । क्याम्पसमा सञ्चालन हुने परीक्षा केन्द्रको सम्पूर्ण खर्च विश्वविद्यालयले व्यहोर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update