Hamro Patra
सुदूरपश्चिमका ८८ पालिकामा २ अर्ब बेरुजु

धनगढी, जेठ २
सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहले दुई अर्ब ११ करोड ४१ लाख सात हजार रुपैयाँ बेरुजु गरेका छन् ।

महालेखापरीक्षकले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२ औं महालेखा परीक्षण प्रतिवेदन अनुसार ८८ वटा स्थानीय तहको एक खर्ब पाँच अर्ब ७५ करोड ९२ लाख २५ हजार रुपैयाँको महालेखा परीक्षण गरिंदा दुई प्रतिशत बेरुजु भएको भेटिएको   हो । 

महालेखा परीक्षण प्रतिवेदनमा यी स्थानीय तहको म्याद नाघेको पेश्की बेरुजु दुई अर्ब ११ करोड ४१ लाख रुपैयाँ र पेश्की बेरुजु २३ करोड ५७ लाख रुपैयाँ रहेको उल्लेख छ । 

सुदूरपश्चिमका स्थानीय तहको पेश्कीबाहेक बेरुजु १.७८ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । सुदूरपश्चिममा सबैभन्दा कम बेरुजु बझाङको साइपाल गाउँपालिकाले गरेको छ । साइपालको ५३ करोड ४० लाख ९८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २३ लाख ८६ हजार रुपैयाँ बेरुजु छ । यो कुल लेखापरीक्षण रकमको ०.४५ प्रतिशत हो । 

यसैगरी, सुदूरपश्चिममा सबैभन्दा बढी बेरुजु कञ्चनपुरको भीमदत्त नगरपालिकाको देखिएको छ । यो नगरपालिकाको तीन अर्ब ५३ करोड १८ लाख ३१ हजार रुपैयाँको महालेखापरीक्षण गरिएकोमा १५ करोड एक लाख ६८ हजार रुपैयाँ बेरुजु देखिएको हो । जुन महालेखापरीक्षण गरिएको रकमको ४.२५ प्रतिशत हो । 

आर्थिक वर्ष २०८०/०८१ मा कुल ५२ अर्ब ५१ करोड ८४ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेका ८८ वटा स्थानीय तहले ५३ अर्ब २४ करोड सात लाख ५८ हजार रुपैयाँ खर्च गरेका थिए । 

यी स्थानीय तहहरुसँग ५ अर्ब ८८ करोड ६४ लाख ४६ हजार रुपैयाँ गत आर्थिक वर्षकै जिम्मेवारी थियो भने यो आर्थिक वर्षमा पाँच अर्ब १६ करोड ४१ लाख ५५ हजार रुपैयाँ खर्च गर्न नसकी मौज्दात बाँकी थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update