 
                                                                    टीकापुर, जेठ ३
आज नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस । देशैभर नेकपा एमालेले विभिन्न कार्यक्रम गरी मनाएको छ । 
नेकपा एमाले टीकापुर नगर कमिटीले टीकापुर अस्पतालका बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरी स्मृति दिवस मनाएको छ ।
अस्पतालको इमरजेन्सी र वार्डमा रहेका बिरामीहरुलाई फलफूल तथा जुस वितरण गरिएको हो । फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैशीले कम्युनिष्ट आन्दोलनका जुझारु नेताद्वयको हत्या गरिएको र हालसम्म समेत छानविन हुन नसकेको बताए ।
‘मदन भण्डारी यो देशका लागि समर्पित योद्धा थिए, उनको हत्या गरिएको हो’ प्रदेश अध्यक्ष जैशीले भने ‘राज्यले उक्त घटनाको वास्तविक दोषी पत्ता लगाउन सकेको छैन ।’
फलफूल वितरण कार्यक्रममा प्रदेश सचिवालय सदस्य एवं नगर इञ्चार्ज तपेन्द्र रावल, प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रम अघि नेताद्वयको तस्वीरमा पार्टी कार्यालयमा माल्यार्पण गरिएको नगर अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।

 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    