
टीकापुर, जेठ ७
टीकापुर नगरपालिकाले सबै किसिमका श्रमिकहरुको अभिलेख राख्ने भएको छ । नगरपालिकाले आज छैठौं पटक सार्वजनिक सूचना जारी गरी अभिलेखका लागि सुचिकृत हुन आह्वान गरेको छ ।
सूचना अनुसार श्रमिक लगत संकलन तथा व्यवस्थापन कार्यविधि २०७८ परिच्छेद २ को दफा ३ अन्र्तगत नगर क्षेत्र भित्र रहेका सबै किसिमका श्रमिकहरुको काम, सिप र दक्षताको आधारमा अभिलेख अध्यावधिक गर्ने उल्लेख छ ।
नगरपालिकाले स्थानीय तहमा दर्ता भएका श्रमिकहरुलाई सुचिकृत हुन सहजीकरण गर्ने, परिचय पत्रको व्यवस्था गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न सिप र प्रविधिको व्यवस्था गर्न जोड दिने नीति लिए अनुसार श्रमिकहरुको अभिलेख राख्ने भएको हो ।
नगर भित्र संगठित वा असंगठित रुपमा विभिन्न उद्योग, व्यापार, व्यवशाय, होटल, रेष्टुरेन्ट वा सेवामा कार्यरत स्थायी, अस्थायी, करार, मासिक ज्यालादारी, दैनिक ज्यालादारी, पिसरेट, ठेक्कामा काम गर्ने श्रमिकहरुलाई अभिलेखमा समावेश गरिने बताईएको छ ।
ती श्रमिकहरुले श्रमिक लगत संकलन तथा व्यवस्थापन कार्यविधि २०७८ को अनुसूची–२ बमोजिम निवेदन दिई अनुसूची–४ बमोजिमको शुल्क र आवश्यक कागजात सहित सात दिन भित्र सूचिकृत हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीले सूचिकृत हुने श्रमिकको संख्या अनुमान गरे भन्दा न्यून भएकाले छैठौं पटक सूचना जारी गर्नुपरेको बताए । उनले नगरपालिकाले आगामी दिनमा श्रमिक सूचिकृत भए अनुसार सिपमूलक कार्यक्रम लागु गर्ने जानकारी दिए ।