
टीकापुर, जेठ ८
कैलालीको टीकापुर बहुमुखी क्याम्पसलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।अनेरास्ववियूका कार्यवाहक अध्यक्ष गोबिन्दप्रसाद भण्डारीले विभिन्न मागहरु राख्दै क्याम्पस प्रशासनलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
‘हरेक वर्ष माघ २२ गते स्थापना दिवसको अवसर पारी मनाइँदै आएको वार्षिक उत्सब निरन्तर हुनुपर्ने, विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापको शुल्क वर्षमा दुई पटक क्याम्पसलाई बुझाउँदा समेत अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले भाग लिन नपाएको, विद्यार्थीबाट शुल्क उठाउने र अतिरिक्त क्रियाकलाप नगराउने क्याम्पसको कार्यप्रति अनेरास्ववियु घोर भत्सर्ना गर्दछ’ ज्ञापन पत्रमा भनिएको छ ‘समयमै अतिरिक्त क्रियाकलाप गराउन अनुरोध गर्दछौं ।’
अनेरास्ववियूले लाइब्रेरीमा पर्याप्त मात्रामा किताब उपलब्ध गराउनु पर्ने, विद्युतीय सामाग्री प्रोजेक्टर, लाइट, पंखा समयमै मर्मत गर्नुपर्ने, विद्यार्थी परिचय पत्रको अन्तिम समय चार सेमिस्टारसम्म हुने हुँदा एउटा सेमिस्टारमा शुल्क लगेपछि अन्यमा लिनु नपर्ने, समयमै अतिरिक्त क्रियाकलापहरु गराउनु पर्ने माग गरेको छ ।
त्यस्तै समयमै कोर्ष सकेर परिक्षाको समयमा आएर एउटै विषय ३/४ घण्टा पढाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने, लाइब्रेरीमा विद्यार्थीले धरौटी राखेर किताब पाउनु पर्ने र प्रत्येक सेमिस्टारमा १०० रुपैयाँ शुल्क क्याम्पसले लिन हटाउनु पर्ने र क्याम्पसको शैक्षिक क्यालेन्डर सम्पूर्ण विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने माग राखेको छ ।