
अछाम, जेठ ८
अछामको ढकारी गाउँपालिका नेपाली काँग्रेसका उपसभापति पदमबहादुर बुढाको भिरबाट लडेर मृत्यु भएको छ । सेती नदी किनारको तुरे भन्ने ठाउँमा भिरबाट लडेर बुढाको मृत्यु भएको हो ।
बुधबार तुरेस्थित खेतमा धानको बिउ राख्न गएका बुढा सेती नदीमा बगेको डुंगा बचाउने क्रममा भिरबाट खसेका थिए । नदी किनारमा रहेको डुंगामा कपडा राखेर धानको बिउमा प्रयोग गरिने घाँसको पाला काट्न भिरमा गएका उनी नदीले डुंगा बगाएको देखेपछि बचाउन भन्दै दगुरेर तल झर्ने क्रममा भिरबाट खसेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए ।
अध्यक्ष साउँदका अनुसार झण्डै ४६ वर्षीय मृतक बुढा अबेरसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा स्थानीयले शव भेटाएका थिए । ढकारी गाउँपालिका वडा नं. ४ बलाताका उनी काँग्रेस गाउँपालिका कार्यसमितिका उपसभापति हुन् ।
अछाम र डोटीको सिमानामा रहेको सेती नदी किनारमा बलाताका स्थानीयका खेतबारी तथा गोठहरू छन् । जहाँ हरेक वर्ष यो सिजनमा खनजोतको चटारो चल्ने गरेको छ । उनको शव सेती किनारबाट बलातास्थित घरमा ल्याएको र शुक्रबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।