
टीकापुर, जेठ ११
नेपाल प्रहरीको व्युरोबाट खटिएको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नं. ५ शिवनगरका २६ वर्षीया निराजन थापालाई धनगढी बसपार्कमा रहेको धामी होटलमा विगत केही दिनदेखि पटक–पटक गई आफू ब्युरोबाट आएको हुँ भन्दै रकम माग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको भनाइ अनुसार होटल सञ्चालक मोहन सिंह धामीलाई निशानामा पारेर रकम माग गर्ने क्रममा शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
सोही आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले युवकलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।