 
                                                                    टीकापुर, जेठ २२
दिगो तथा सम्मानित रोजगारीका लागि सीपमुलक परियोजना–दोस्रो अन्र्तगत फर्केका आप्रवासीहरुका लागि व्यवशायिक परामर्श कार्यक्रम आज टीकापुरमा सम्पन्न भएको छ । हेल्भिटासको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमले कार्यक्रमको आयोजना गरेको हो । 
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका सदस्य तथा टीकापुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै ब्यापार व्यवशाय गर्दै आएका युवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी युवाहरुलाई नविल बैंक टीकापुरका प्रबन्धक जनकराज ओझाले बैंक तथा वित्तिय संस्थाहरुबाट हुने ऋण प्रवाहका बारेमा जानकारी दिएका छन । उनले केही व्यवशायीहरुले ऋणको दुरुपयोग गरेका कारण बैंक तथा वित्तिय संस्थाहरुले ऋण लगानीमा कडाई गरेको बताए ।
‘ब्यापार गर्छु भनेर लगेको ऋण अन्यत्र खर्च गरेको पाईयो’ उनले भने–‘जसका कारण हामी ऋण लगानी गर्न डराएका छौं र व्यवशायी धरासायी भएका छन ।’
उनले ऋणको दुरुपयोग नहुने हो भने बैंक तथा वित्तिय संस्थाहरु साना व्यवशायीहरुलाई लगानी गर्न तयार रहेको जानकारी दिए ।
सोही कार्यक्रममा सिए संघका सुदूरपश्चिम अध्यक्ष टेकराज पनेरुले राज्यको कर नीतिका बारेमा युवाहरुलाई जानकारी दिएका छन । उनले राज्यको नीतिलाई पालना नगरेका कारण व्यवशायीहरुले दुःख पाएको बताए ।
‘राज्यको नीतिका बारेमा कसैले वास्तै गरेको पाईदैन’ उनले भने–‘जब दुःख पाईन्छ अनि राज्यले यो गर्यो त्यो गर्यो भनेर गाली गरेर बस्छौं ।’
उनले राज्यको नीतिका बारेमा व्यवशायीले अनलाईन माध्यमबाटै धेरै कुरा थाहा पाउने व्यवस्था रहेको बताए । उनले त्यसतर्फ व्यवशायीले ध्यान नदिएका कारण राज्य जरिवाना गर्न वाध्य हुने गरेको बताए ।
हेल्भिटासका टेकेन्द्रकुमार ओडले निजी क्षेत्रसँगको साझेदारीमा वैदेशिक रोजगारबाट फर्केका युवाहरुको सीप विकासमा सघाउने योजना रहेको जानकारी दिए । उनले युवाहरुले विदेशमा सिकेको कुरालाई स्वदेशमा व्यवशायका रुपमा परिणत गर्ने संस्थाको उद्देश्य रहेको बताए ।
उनका अनुसार संस्थाले टीकापुरका साथै धनगढी र महेन्द्रनगरमा समेत कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुले राज्यको नीति असहज भएका कारण आफूहरुले व्यवशायमा हिम्मत गर्न नसकेको दुःखेपो पोखे । उनीहरु मध्ये कतिपयले स्वदेश फर्केर बेरोजगार भएर बस्नु परेको सुनाए ।
कार्यक्रममा सहभागी केही युवाहरुले भने स्वदेश फर्केर व्यवशाय गरिरहेको सुनाए । उनीहरुले विदेशमा सिकेको सीपलाई स्वदेशमा व्यवहारमा उतार्न सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रमको समापन गर्दै खड्काले युवा व्यवशायीहरुको सहयोगका लागि आफू सदैव तयार रहेको बताए । उनले व्यवशायीहरुले समेत इमान्दारिता देखाउन आवश्यक रहेको बताउँदै राज्यका नीति नियमको पालना गर्नु सबैको दायित्व हुन आउने बताए । 
 

 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    