
टीकापुर, जेठ २५
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ६ बाम्का बजारमा आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख आर्थिक सहयोग गर्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए ।
उनले आगलागीको विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप निर्णय गर्ने बताए । उनले प्रदेश सरकारले बढीगंगा नगरपालिकालाई सो रकम उपलब्ध गराउने र नगरपालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने छ । प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
जेष्ठ २३ गते बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ४० वटा पसल जलेर आठ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक विवरण संकलन गरिएको छ ।