
टीकापुर, जेठ ३१
कैलालीको टीकापुर नगरपालिकाले १५ प्रतिशत बजेट सोझै वितरण गरेको पाइएको छ । नगर कार्यपालिकाले विकास बजेट अनुशासन र पद्धति अनुसार खर्च नगरेको हो ।
नगरपालिकाले बजेटलाई अबण्डा राखेर खर्च गर्ने, उपभोग खर्च बढाउने र सोझै खरिद कार्यमा व्यापक खर्च गरेको पाइएको महालेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनमा टीकापुर नगरपालिका नगर कार्यपालिकाले १० करोड ६२ लाख ६८ हजार रुपैयाँ कार्यपालिका बैठकको निर्णयबाट खर्च गरेको उल्लेख छ । ‘कुल बजेटको १५ प्रतिशत बजेट अबण्डा राखी बैठकबाट निर्णय गरेर खर्च भएको छ’ प्रतिवेदनले भनेको छ, ‘यो नगरपालिकामा बजेट अनुशासन र पद्धति भएन ।’
बजेट निर्माण प्रक्रियामा नै नगएको र टीकापुर नगरपालिकाले बजेट सीमा निर्धारण समिति पनि गठन गरेको छैन । यता बजेट कार्यक्रम तर्जुमा गरेको छैन, उता सभामा विस्तृत विवरण प्रस्तुत नै नगरिकन नगर कार्यपालिकाले सभा छलेर १५ प्रतिशत बजेट बाँडेको हो ।
टीकापुर नगरपालिकाले खाना, खाजा र सभा सञ्चालनमा ५६ लाख १७ हजार रुपैयाँ खर्चेको छ । कार्यालय सामग्री र मसलन्द खरिदमा ६६ लाख ४१ हजार खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
कागजातै पेस नगरेको टीकापुर सामुदायिक अध्ययन केन्द्रलाई पाँच लाख भुक्तानी दिएको छ भने सेतो कागजमा भर्पाई गरेका आधारमा २८ लाख ३५ हजार ७ शय रुपैयाँ भुक्तानी दिएको पाइएको छ । यसलाई महालेखाले अनौपचारिक कारोबार भनेको छ ।
यस्तै टीकापुर महोत्सवलगायतका १२ वटाका संस्थालाई १८ लाख ५१ हजार रुपैयाँ प्रदान गरेकोमा यसलाई वितरणमुखी बजेट भन्दै रोक्न सुझाव दिएको छ । नगरपालिकाले एक आर्थिक वर्षमा १ करोड ४२ लाख २९ हजार रुपैयाँका ठेक्कापट्टा सोझै खरिद गरेको छ । प्रतिस्पर्धा गरेको ठेक्कामा ३६ प्रतिशतदेखि ४३ प्रतिशतसम्म घटेर ठेक्का लागेका छन् ।
महालेखाले नगरपालिकाको सटर भाडा नउठ्नु, पार्क प्रवेश शुल्कको एक लाख ५३ हजार पाँच शय रुपैयाँको हिसाब नदेखिनु र नगर प्रमुखले तीन दिनभन्दा लामो भ्रमण कार्यपालिकाबाट आफैँले स्वीकृत गर्ने गरेको कामलाई आन्तरिक नियन्त्रण प्रणाली नभएको भनिएको छ ।
२०५३ सालमा स्थापना भएको टीकापुर नगरपालिकामा आन्तरिक लेखा परीक्षण शाखा नै छैन । नगरपालिकाको कुल बजेटको ६५ दशमलव ७९ प्रतिशत बजेट चालु खर्च भएको र २४ दशमलव ४२ प्रतिशत बजेट मात्र पुँजीगतमा खर्च भएको छ ।