
टीकापुर, असार १
सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण सरेको छ । आइतबार साँझ ५ बजेका लागि तोकिएको बजेट भाषण दुई घण्टा सरेको हो ।
अब बेलुकी ७ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरिने छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार बेलुकी ७ बजे बस्ने गरी प्रदेश सभा बैठक सरेको हो ।
संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट प्रदेश सभामा प्रस्तुत गरिसक्नु पर्छ। बजेट तयार गर्नमा ढिलाइ हुँदा पूर्व निर्धारित समय भन्दा दुई घण्टा ढिलो गरी प्रदेश सभामा बजेट प्रस्तुत गरिन लागिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका योजना बजेटमा समेट्ने काम नसकिएको बताइएको छ । सो काम सकेर बेलुकी ७ बजे बस्ने बैठकमा बजेट प्रस्तुत गरिने छ ।
बजेट निर्माणमा आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच खिचातानी थियो । भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पालले मन्त्रालयको दायित्व बढी भएको भन्दै बजेट बढाउन माग गर्दै आएका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।