श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

कञ्चनपुर, असार २
श्रीमतीको घाँटी च्यापेर हत्या गरेको अभियोगमा कञ्चनपुरमा एक श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १० मुक्तिटोलका ५० वर्षीय कालु सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुनारले शनिवार राति श्रीमती जुनादेवीको घाँटी च्यापेर हत्या गरेको अभियोगमा सुनारलाई पक्राउ गरिएको हो ।
शनिवार राति गम्भीर घाइते भएकी जुनादेवीको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । जुनादेवीको श्रीमानले घाँटी च्यापेर हत्या गरेको किटानी जाहेरीका आधारमा सुनारलाई राति ३ बजे धनगढीस्थित ट्राफिक चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १५:५३
प्रतिक्रिया दिनुहोस्