
धनगढी, असार ३
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा मठमन्दिर, चर्चलगायत धार्मिक संरचना निर्माणका योजनामा ठूलो बजेट विनियोजन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्री, सांसद र राजनीतिक नेता-कार्यकर्ताको पहुँच तथा सिफारिसका आधारमा करोडौँ रकम विनियोजन गरेको हो ।
प्रदेशका नौवटै जिल्लामा गरी मठमन्दिर, चर्च निर्माणका दुई सय चार वटा योजना बजेटमा परेका छन् । ती योजनामा ३२ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अधिकांश योजनामा १० लाख बजेट छ । सुदूरपश्चिमलाई देवभूमि मानिदै आएको छ । तर यसरी व्यक्ति केन्द्रीत र कार्यकर्तामुखी भएर ल्याइने मठमन्दिरका योजनाबाट यहाँको पर्यटन प्रवद्धनमा भने कुनै योगदान नपुग्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
सरकारले गत वर्षमात्र दुई सय २४ वटा मठमन्दिर र चर्चका योजनामा २४ करोड २९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। बजेटमा समावेश गरिएका धेरैजसो मठमन्दिरका योजना स्थानीय तहबाट माग भएर आएका भन्दा पनि मन्त्री र सांसदले सिफारिस गरेका हुन् ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन विकास कार्यान्वयन इकाइ कैलालीले मठमन्दिर निर्माणका योजनाहरु कार्यान्वयन गर्ने गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत समेत मन्दिर निर्माणका तीन वटा योजना राखिएका छन ।
मठ मन्दिर निर्माणका सबैभन्दा धेरै योजना र बजेट कैलालीमा छ । सरकारले कैलालीमा मठमन्दिर र चर्चका ६६ वटा योजनामा १२ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ । बर्दगोरिया गाउँपालिकामा मात्र तीन करोड ८४ लाख रुपैयाँ लागतका २१ वटा र लम्कीचुहा नगरपालिकामा तीन करोड १० लाख रुपैयाँ लागतका १४ वटा मठमन्दिर तथा चर्च निर्माणका योजना परेका छन ।
त्यस्तै बैतडीमा मठमन्दिर निर्माणका ३० वटा योजनामा पाँच करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कञ्चनपुरमा २८ वटा मठमन्दिर र चर्च निर्माणका योजना बजेटमा परेका छन्। ती योजनामा तीन करोड २८ लाख बजेट छुट्याइएको छ ।
अछाममा २१ वटा मठमन्दिर तथा चर्च निर्माणका योजनामा दुई करोड ९५ लाख, डोटीमा १८ वटा योजनामा तीन करोड ५० लाख र बझाङमा मठमन्दिर तथा चर्च निर्माणका १५ वटा योजनामा एक करोड ४६ लाख बजेट राखिएको छ ।
डडेल्धुरा र दार्चुला १३ र ८ वटा मन्दिर निर्माणका योजना परेका छन्। यी योजनामा क्रमशः एक करोड ६० लाख र एक करोड ३५ लाख बजेट छुट्याइएको छ। मठमन्दिर निर्माणका सबैभन्दा कम बजेट र योजना बाजुरामा छन् । बाजुरामा मठमन्दिरका पाँच वटा योजनामा ६३ लाख रुपैयाँ बजेट छ ।
मठमन्दिरका नाममा हरेक वर्ष प्रदेश सरकारले लाखौँ रुपैयाँ बजेट अनुत्पादक क्षेत्रमा खर्च गरिरहेको भन्दै आलोचन हुँदै आएको छ। तर मठमन्दिर निर्माणका योजनामा बजेट विनियोजन हुन भने छोडेको छैन ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी बिष्ट व्यक्ति र कार्यकर्ता केन्द्रीत गरेर ल्याइएका मठमन्दिर निर्माणका योजनाले कुनै प्रतिफल नदिने बताउँछिन् । स-साना मठमन्दिर निर्माण गरेर प्रदेशको पर्यटन प्रवद्र्धन नपुग्ने उनको भनाइ छ । 'मठमन्दिरका योजनामा बजेटनै विनियोजन गरिनु हुँदैन भन्ने होइन' बिष्टले भनिन्, 'पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने ठूला योजनामा निश्चित मापदण्ड बनाएर लगानी गर्नुपर्छ ।'
नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले मठमन्दिर निर्माणमा करोडौँ बजेट छुट्याइनु अनुत्पादक र औचित्यहिन भएको बताए । प्रदेशको बजेट मन्त्री र सांसदका वरिपरी घुमेको उनले टीप्पणी गरे। 'बजेट अनुत्पादक भयो। साना योजना स्थानीय तहलाई दिनुपर्ने हो तर प्रदेशले गरिरहेको छ' अध्यक्ष ढुङ्गानाले भने ।
अग्रलेखबाट