
टीकापुर, असार ९
कैलालीको धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या गरिएको खुलेको छ । कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं. ११, अमर बस्तीकी ३० वर्षीया रेणु चौधरीको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार उनी केही समयदेखि धनगढी उपमहानगरपालिका क्षेत्रको एक कोठामा भाडामा बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी राजकुमार सिंहले दिएको जानकारी अनुसार मृतक चौधरीको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने कन्चटमा पनि चोटपटक रहेको छ ।
‘यो हत्या भएको घटनाजस्तो देखिन्छ’ डिएसपी सिंहले भने ‘अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।’
मृतक चौधरी नेपाल सरकार अन्तर्गत खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिइन् । प्रारम्भिक अनुसन्धान अनुसार उनी पछिल्ला दुई महिनादेखि एक युवकसँगै सो कोठामा बस्दै आएकी थिइन् । तर उक्त युवकको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।