
टीकापुर, असार १०
जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरियाले आगामी आर्थिक वर्षका लागि ८३ करोड ८६ लाख ५९ हजार १५४ रुपैयाँको बजेट प्रस्तुत गरेकी छन । गाउँसभाको १४ औं अधिवेशनमा आज उपाध्यक्ष कठरियाले यस्तो बजेट प्रस्तुत गरेकी हुन ।
उनले बजेटको अनुमानित आय समेत उल्लेख गरेकी छन । जसमा संघीय वित्तीय समानिकरणमा ११ करोड २३ लाख, प्रदेश वित्तीय समानिकरणमा १ करोड ७ लाख ६९ हजार, संघीय राजश्व बाँडफाँडमा १ करोड २८ लाख ९७ हजार ६५४ र प्रदेश राजश्व बाँडफाँडमा ३६ लाख २८ हजार उल्लेख गरेकी छन ।
त्यस्तै संघीय सशर्त अनुदानमा चालुतर्फ १६ करोड ६६ लाख, पूँजीगततर्फ ३५ करोड ३९ लाख, प्रदेश सशर्त अनुदानमा चालुतर्फ ४ करोड र पूँजीगततर्फ ४० लाख रुपैयाँ रहेको छ । संघीय सरकारको विशेष अनुदानमा ६९ लाख, संघीय सरकार समपुरक अनुदानमा ५० लाख, प्रदेश सरकारको विशेष अनुदानमा ७५ लाख, प्रदेश समपुरक अनुदानमा १ करोड ८० लाख रुपैयाँ रहेको छ ।
बजेटमा आन्तरिक आयतर्फ १ करोड ७० लाख ६४ हजार ५०० र १ लाख रुपैयाँ अल्या हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले चालु आवको जेठ मसान्तसम्म पूँजीगततर्फ ४६.१५ प्रतिशत र चालुतर्फ ७२.२५ प्रतिशत बजेट खर्च भएको जनाएको छ । बजेट वक्तव्यमा राजश्व बाँडफाँड तथा समानिकरण अनुदान पूर्ण रुपमा प्राप्त नहुँदा पालिकाको सार्वजनिक सेवा प्रवाह, विकास निर्माण कार्य र नियमित रुपमा सञ्चालन गर्नुपर्ने योजना तथा कार्यक्रमहरु प्रत्यक्ष प्रभावित भएको उल्लेख छ । यसले भुक्तानी दायित्व सिर्जना भई त्यसको असर आगामी आवको बजेट तर्जुमामा समेत देखिएको बताईएको छ ।