Hamro Patra
जानकीले असल अभ्यासको जानकारी दियो

टीकापुर, असार १२
जानकी गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै असल अभ्यासका बारेमा जानकारी दिएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले केही असल अभ्यासका बारेमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन । उनले गाउँपालिकाले सम्पन्न गरेका असल अभ्यासका कारण कार्य सम्पादन मुल्यांकनमा उत्कृष्ठ हुन पुगेको बताए । 

उनले गाउँपालिका स्थानीय तह कार्य सम्पादन मुल्यांकनमा कैलाली जिल्लाका १३ पालिका मध्ये दोस्रो भएको बताए । उनले अस्पताल नभएका कारण स्वास्थ्य सेवाले गर्दा मुल्यांकनमा पहिलो हुनबाट गाउँपालिका चुकेको जानकारी दिए । 

उनले सामुदायिक विद्यालयमा मासिक स्वास्थ्य शिक्षा कार्यक्रम लागु गरिएको जानकारी दिए । सो कार्यक्रमका लागि गाउँपालिकाले दुईजना स्टाफ नर्सको व्यवस्था गरेको छ । ती स्टाफ नर्सले विद्यालयमा स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिने गरेको बताईएको छ । 

त्यस्तै असल अभ्यास अन्र्तगत नै विद्यालयमा करेसाबारी निर्माण गरिएको छ । ‘जंक फुड’ विस्थावित गर्ने उद्देश्यले विद्यालय करेसाबारी कार्यक्रम लागु गरिएको बताउँदै चौधरीले यो कार्यक्रम चालु आवमा ४ वटा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको जानकारी दिए । 

सोही अवसरमा गाउँपालिकाले विद्यालयमा विद्यार्थीहरुलाई लोकसेवा र शिक्षक सेवा आयोगका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम लागु गरेको बताईएको छ ।  

उनले कृषि मेला सञ्चालन गरेर कृषकको आयआर्जनमा गाउँपालिकाले सहयोगी भूमिका निर्वाह गरेको बताए । उनले कृषि मेला सञ्चालन भएपछि धेरै व्यक्तिहरु कृषि पेशातर्फ आकर्षित भएको बताए । 

उनले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेर किसानलाई राहत पुर्याईएको बताए । उनका अनुसार गाउँपालिकाले गहुँ बालीमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ । 

त्यस्तै विपदका क्षेत्रमा समेत गाउँपालिकाले उत्कृष्ठ अभ्यासहरु सञ्चालन गरेको जानकारी दिए । उनले गाउँपालिकाले विपदको समयमा हरेक घरमा सूचना पुर्याउने उद्देश्यले पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन गरेको बताए । गाउँपालिकाले विपदको समयमा कसरी जोगिने भन्ने बारेमा सशस्त्र प्रहरी सँगको सहकार्यमा १८ दिने तालिम सम्पन्न गरेको छ । 

उनले कर्मचारीहरुकाबिचमा सौहार्द वातावरण होस भन्ने उद्देश्यले हरेक महिनाको ७ गते कर्मचारी कार्य सहजिकरण बैठक सञ्चालन हुने जानकारी दिए । उनले कर्मचारी र जनप्रतिनिधिहरुकाबिचमा पनि त्यस्तै वातावरण होस भनेर वर्षको २ पटक यस्तै बैठक हुने गरेको बताए । 

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष गणेश चौधरीले आगामी कार्यक्रमका बारेमा जानकारी दिएका छन । उनले गाउँपालिकाको प्रशासनिक भवन निर्माण, वडा नम्बर ६ मा १५ शैयाको अस्पताल स्थापना,  वडा नम्बर ४ मा हरियाली गाउँपालिका अन्र्तगत नर्सरी स्थापना, गाउँ शिक्षा योजना, दूधमा पनि उत्पादनमा आधारित अनुदान कार्यक्रम, विभिन्न ठाउँमा होमस्टे सञ्चालन गर्ने कार्यक्रम रहेको बताए । 

उनले लम्कीचुहा नगरपालिकासँगको सीमा विवादका बारेमा पत्रकारले सोधेको जिज्ञासामा नगरपालिकाले अनावश्यक विवाद निम्त्याएको बताए । उनले साविकको पथरैया गाविसको सीमा नै गाउँपालिकाको सीमा भएकाले सोही अनुसार समस्याको समाधान हुनुपर्ने बताए ।

‘साविकको पथरैया गाविस कहाँ सम्म छ ? त्यो हेरे आफै प्रष्ट हुन्छ’ उनले भने–‘त्यहाँका बासिन्दाले पनि धेरै कुरा प्रष्ट भन्न सक्छन । उनीहरुको कुरा पनि सुनिनु पर्छ ।’

उनले जिल्ला समन्वय समितिले भनेको आधारमा लम्कीचुहा नगरपालिका सीमा विवादको समाधान खोज्न तयार नभएकाले समस्या ठूलो देखिएको बताए । 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update