Hamro Patra
साउन १ गतेदेखि टीकापुरमा प्लाष्टिक झोला बिक्री गर्न नपाइने

टीकापुर, असार १३ 
आगामी साउन १ गतेदेखि टीकापुर नगरपालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउने भएको छ । नगरपालिकाको १७औं नगर सभाबाट पालिकालाई प्लाष्टिक झोलामुक्त बनाउने नीति पारित भएसँगै साउन १ गतेदेखि टीकापुरमा प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाइने भएको हो

वातावरणीय असर पुर्याउँदै आएको प्लाष्टिक झोलाले नदी, माटोलाई बिगार्नुका साथै जनावर र मानिसलाई समेत प्रत्यक्ष असर पुग्ने भएकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउने तयारी भइरहेको नगरपालिकाको सरसफाई शाखाका प्रमुख लोकबहादुर बुढाले जानकारी दिए । 

बुढाका अनुसार पालिकाले नगर प्रहरीको सहयोगमा बजार क्षेत्रमा कडा निगरानी गर्नुका साथै प्लाष्टिक झोला बिक्री वितरण गरिएको पाइए कानुन बमोजिम कारवाही गरिने बताए । 

उनले प्लाष्टिक झोलाका सट्टामा कपडाका झोला, फाइबर ब्याग आदि प्रयोग गर्न पालिकाले नगरबासीलाई आग्रह गरिने बताए । यसअघिका आर्थिक वर्षहरुमा टीकापुर पार्कमा प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाइने नीति लिएको नगरपालिकाले त्यसको कार्यान्वयन भने गर्न सकेको थिए । 

आर्थिक वर्ष २०८२/०८३ का प्लाष्टिक झोलाको बिक्री वितरण गर्ने नीति अनुसार साउन १ गतेदेखि नै बिक्री वितरणमा रोक लगाइने, प्लाष्टिकजन्य फूल तथा मालाको बिक्री वितरणमो रोक लगाइने भएको हो । 

प्लाष्टिकजन्य सामग्रीको प्रयोगले वातावरणमा पारिरहेको असर कम गर्न पालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा कडाईका साथ रोक लगाउने तयारी गरिरहेको छ । यसअघि कैलालीको धनगढी उपमहानगर पालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update