
टीकापुर, असार १४
हिजो सार्वजनिक भएको यस वर्षको एसईई परीक्षामा टीकापुरका दुई विद्यार्थीसहित कैलालीका सात जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्
शिक्षा तथा समन्वय इकाइ कार्यालय कैलालीका अनुसार एक जना सामुदायिक विद्यालय र अन्य छ जना निजी विद्यालयका विद्यार्थीहरुले एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका हुन् ।
सामुदायिक विद्यालयतर्फ धनगढी उपमहानगरपालिका वडा नं. ३ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय बोराडाँडीका विद्यार्थी अशोक अवस्थीले ४ जीपीए ल्याएका छन् । उनी कैलालीका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने एक मात्रै विद्यार्थी हुन् ।
यता, टीकापुरस्थित गणेशबाबा इंग्लिस बोर्डिङ स्कुलकी छात्रा भुवन उपाध्याय (भावना) ले ४ जीपीए ल्याएकी छन् । त्यस्तै टीकापुरकै युनाइटेड एकेडेमीका निखिल लोहार समेत चार जीपीए ल्याएका छन् ।
कैलालीको मध्यवर्ती सुख्खडमा रहेको पायोनियर्स एकेडेमीका रक्षा बुढाले समेत ४ जीपीए ल्याएकी छन् ।
धनगढी उपमहानगरपालिका वडा नं. ८ मा रहेको एरिस्टो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल शान्ती अधिकारीका अनुसार गौरव उपाध्याय र प्रदीप गिरीले ४ जीपीए ल्याएका छन् भने धनगढीकै जेसीज एभरेष्ट स्कुलका जस्टिन चन्दले समेत ४ जीपीए ल्याएका छन् ।
यता टीकापुर नगरपालिकाका सामुदायिक विद्यालयहरुमा राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाले ४८.१५ प्रतिशत अंक ल्याई उत्कृष्ट भएको छ भने संस्थागत विद्यालयतर्फ खड्ग मेमोरियल सेकेण्डरी स्कुल ९७.९२ अंकसहित उत्कृष्ट भएको छ ।
टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेश अवस्थीका अनुसार राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाबाट २७ विद्यार्थीले परीक्षा दिएकोमा १३ जना ग्रेडेड भएका छन् भने खड्ग मेमोरियलबाट परीक्षा दिएका ४८ विद्यार्थी ४७ जना ग्रेडेड भएका हुन् ।
शिक्षा तथा समन्वय ईकाइ कार्यालय कैलालीका सूचना अधिकारी प्रताप धामीका अनुसार कैलालीमा नियमिततर्फ १४ हजार ३६६ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।
उनीहरुमध्ये छ हजार १७९ (४१ प्रतिशत) उत्तीर्ण भएका छन् । ग्रेडवृद्धितर्फ चार हजार ३८५ विद्यार्थीले परीक्षा दिएकोमा एक हजार ३४४ विद्यार्थी उत्तीर्ण भएका छन् ।