Hamro Patra
बिउँ उत्पादनको हब पूर्वी कैलाली

टीकापुर, असार १५
दुई दशक अघि कैलालीको मुनुवाका किसान घरमै भकारीमा भण्डारण गरेको बिउँ प्रयोग गर्थे । कुनैकुनै किसानले मात्रै बाहिरबाट किनेर ल्याएको बिउँ प्रयोग गर्ने गरेको पाईन्थ्यो । बाहिरबाट बिउँ किनेर ल्याउने कुरा किसानका लागि त्यत्ति सहज पनि थिएन । 

तर, अहिले तिनै जानकी गाउँपालिका वडा नम्बर ४ मुनुवाका किसानले उत्पादन गरेको बिउँ देशका दर्जन बढी जिल्लाका किसानले प्रयोग गर्छन । उनीहरुले उत्पादन गरेको बिउँ मुनुवास्थित बिजवृद्धी कृषक सहकारी संस्थाले खरिद गरेर दर्जन बढी जिल्लाका किसानसम्म पुर्याउने काम गर्छ । 

सहकारीले किसानले उत्पादन गरेको बिउँ खरिद गरेर बाह्य जिल्लामा बिक्री गर्ने मात्रै हैन किसानलाई सहयोग समेत गर्छ । सहकारीको सहयोगमा किसानले बिउँ उत्पादन गर्छन । यसको सुरुवात २०६२ देखी भएको सहकारीका व्यवस्थापक गोविन्द रावतले जानकारी दिए । 

उनका अनुसार सहकारीकै सहयोगमा किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मास लगायतका बालीको बिउँ उत्पादन गर्छन । यो बिउँ कैलाली बाहेक बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहा लगायतका किसानले प्रयोग गर्छन । 

मुनुवाका किसानले उत्पादन गरेको बिउँको बजार र यसको गुणस्तरीयताका बारेमा कुनै समस्या नरहेको व्यवस्थापक रावत बताउँछन । ‘जतिधेरै उत्पादन गरेपनि बजारको कुनै समस्या छैन’ उनले भने–‘हाम्रो उत्पादन प्रति अहिलेसम्म कसैले गुनासो पनि गरेका छैनन् ।’

सहकारीले वर्षेनी ३ सय मेट्रिक टन धान र गहुँको बिउँ बिक्री गर्छ । सहकारीसँग ४०८ मेट्रिक टन भण्डारण क्षमताका गोदाम छन । यो यहाँको सबैभन्दा पूरानो र ठूलो बिउँ उत्पादन गर्दै आएको सहकारी संस्था हो । 

टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीस्थित उज्यालो बहुउदेश्यीय सहकारी संस्थाले समेत बिउँ उत्पादन गर्दै आएको छ । उसले धान, गहुँ र तोरीको बिउँ उत्पादन गर्छ । सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले वार्षिक ३०० टन बिउँ उत्पादन गरेर बेच्दै आएको जानकारी दिए । 

उनका अनुसार सहकारीले शेयर सदस्यलाई बिउँमा अनुदान दिने गरेको छ । ‘किसानलाई बिउँमा ५० प्रतिशत अनुदान दिन्छौं’ उनले भने–‘हाम्रो नारा नै छ, जमिनको किसानको ः सहयोग सहकारीको ।’ २१ जनाले सुरु गरेको सहकारीमा हाल १ हजार ५८ जना शेयर सदस्य छन । 

२०६३ सालमा बचत संकलन गर्ने उद्देश्यले स्थापना भएको सहकारीले २०७२ सालदेखी बिउँ उत्पादन सुरु गरेको हो । रानी जमरा कुलरीया सिँचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाईले सहयोग गरेपछि सहकारीले बिउँ उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । 

आयोजनाले ठूला मात्रै हैन साना सहकारी र केही निजी कम्पनीलाई समेत बिउँ उत्पादनमा सहयोग गर्दै आएको छ । आयोजनाको सहयोग पछि धेरै साना सहकारी र निजी कम्पनी बिउँ उत्पादनमा सकृय छन ।  

जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीस्थित आधुनिक कृषि सहकारी संस्थाले २०६८ बाटै बिउँ उत्पादन सुरु गरेको हो । कैलाली र बर्दिया जिल्लालाई बजार क्षेत्र बनाएको सहकारीले वर्षेनी ५० मेट्रिक टन बिउँ उत्पादन गर्दै आएको व्यवस्थापक इन्द्राकुमारी डाँगीले जानकारी दिईन । उनले सहकारीले धान र गहुँको बिउँ उत्पादन गर्दै आएको बताईन ।  

‘हामीसँग तत्काल भण्डारण क्षमता पनि छैन’ उनले भनिन्–‘जति उत्पादन हुन्छ त्यति दुई जिल्लाका एग्रोभेटलाई बेच्न ठिक्क हुन्छ ।’

टीकापुर नगरपालिका वडा नम्बर ८ बटनपुरस्थित धनसिँहपुर कृषि सहकारी संस्थाले धान र गहुँको बिउँमा मात्रै जोड दिएको छ । सहकारीका व्यवस्थापक मुना घर्तीमगरका अनुसार ८० टन गहुँ र ६० टन धानको बिउँ वर्षेनी बिक्री हुँदै आएको छ । सहकारीको बजार कैलाली, बर्दिया, कञ्चनपुर, बाँके, सुर्खेत लगायतका जिल्ला हुन । २०७३ सालदेखी बिउँ उत्पादन सुरु गरेको सहकारीमा हाल ३४४ जना शेयर सदस्य छन ।  

सहकारी मात्रै हैन निजी कम्पनीले समेत बिउँ उत्पादन गर्दै आएका छन । किसानसँगको साझेदारीमा निजी कम्पनीहरुले बिउँ उत्पादन गर्ने गरेका छन । टीकापुर नगरपालिका भित्र रहेका किसान बहुउद्देश्यीय प्रालि, क्रियटिभ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी रिसर्च प्रालि, टोप एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी रिसर्च प्रालि, लोक सरस्वती कृषि एग्रोभेट फार्म प्रालि र ज्ञान सिड कम्पनी प्रालिले बिउँ उत्पादन गर्ने गरेका छन । 

टीकापुर नगरपालिका वडा नम्बर ६ ओखरपुरस्थित टोप एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी रिसर्च प्रालिका व्यवस्थापक हिरण्ड गिरीले वार्षिक डेढ सय टन जति धान र गहुँको बिउँ बेच्दै आएको बताए । उनले किसानले उत्पादन गरेको बिउँ कम्पनीले खरिद गरेर बिक्री गर्ने गरेको जानकारी दिए । ‘किसानले उत्पादन गर्छन । हामी खरिद गरेर अन्यत्र बेच्छौ’ उनले भने–‘यसका अलावा हामी किसानलाई सहजिकरण पनि गर्छौ ।’

२०७५ सालदेखी बिउँ उत्पादनमा सकृय कम्पनीले किसानलाई अनुदान, प्राविधिक, कृषि औजार लगायतका कुरामा सहयोग गर्दै आएको छ । व्यवस्थापक गिरीले कैलाली, कञ्चनपुर, बर्दिया र अछाम जिल्लामा बिउँ बिक्री गर्ने गरेको बताए । 

अन्य निजी कम्पनीहरुले समेत यसैगरी किसानलाई सहयोग गरेर बिउँ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन । 

कृषि कार्यक्रम कार्यान्वयन एकाई प्रमुख भरतप्रसाद कँडेलले सहकारी र निजी कम्पनी गरी १५ वटाले बिउँ उत्पादन गर्दै आएको जानकारी दिए । उनले कैलालीको पूर्वी क्षेत्र बिउँ उत्पादनका लागि चिनिन थालेको बताए । ‘बिउँ उत्पादनमा राम्रो प्रगति भएको छ’ उनले भने–‘यसमा आयोजनाको ठूलो भूमिका रहेको छ ।’

उत्पादनमा वृद्धि
स्थानीयस्तरमा उत्पादन भएको बिउँ प्रयोग गर्न थालेपछि उत्पादनमा समेत वृद्धि भएको छ । परम्परागत बिउँ भन्दा अहिले उत्पादनमा दोब्बर वृद्धि भएको जानकी गाउँपालिका वडा नम्बर ४ मुनुवाका किसान रामफल बडायकले बताए । ‘विगतमा एक विगाहमा २० क्विन्टल धान उत्पादन हुन्थ्यो’ उनले भने–‘अहिले ४० क्विन्टल हुन्छ ।’ उनी २ विगाहमा बिउँ उत्पादन गर्छन । 

अर्का किसान विजयकुमार कठरियाले समेत उत्पादनमा वृद्धि भएको बताए । उनी ५ विगाहमा बिउँ उत्पादन गर्छन । ‘अढाई विगाह आफ्नै हो । थप अढाई विगाह अर्काको जग्गा भाडामा लगेको छुँ’ उनले भने–‘विगतको तुलनामा उत्पादन बढेको छ ।’

उत्पादनमा वृद्धि भएपछि यहाँ उत्पादित बिउँ किसानको रोजाईमा पर्न थालेको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाई प्रमुख कँडेलले आयोजनाले बिउँ उत्पादनमा जोड दिनुको उद्देश्य कृषि क्षेत्रको उत्पादनमा वृद्धि होस भन्ने रहेको बताए । उनले पछिल्लो समय कुल ग्राहस्थ उत्पादनमा आयोजनाको कमाण्ड क्षेत्रले महत्वपूर्ण स्थान ओगट्दै गएको दावी गरे । 
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update