
धनगढी, असार १६
आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका दुई हजार घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नं. १३ श्रीलङ्काका चार जना र धनगढीको बेली गाउँका चार जना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।
जोशीका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ ।
त्यसैगरी, श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ । सूचना अधिकारी जोशीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झण्डै दुई हजार घरमा पानी पसेको बताए ।
धनगढी उपहानगरपालिका वडा नं. ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएका छन् ।