
टीकापुर, असार १७
कैलालीको मध्यवर्ती सुख्खडस्थित एक होटलबाट प्रहरीले साढे दुई किलो भन्दा बढी लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।
घोडाघोडी नगरपालिका वडा नं. १ स्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले २ किलो ७ शय १४ ग्राम लागुऔषध अफिमसहित एक महिला र दुई पुरुषलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा हुम्लाको सुर्केगाड गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, सोही ठाउँका २७ वर्षीय सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका वडा नं. ७ बस्ने ३२ वर्षीया पूर्णिमा पुनमगर रहेका छन् ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय सुख्खडबाट प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा खटेएको संयुक्त प्रहरी टोलीले होटलबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।