Hamro Patra
अमरावतीमा ८० वर्षीया वृद्धाको बिभत्स हत्या

टीकापुर, असार १७
कैलालीको जानकी गाउँपालिका वडा नं. ९ अमरावतीमा एक ८० वर्षीया वृद्धाको हत्या भएको छ । अमरावतीस्थित आफ्‌नो घरमा एक्लै बस्दै आएकी ८० वर्षीया मातादेवी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले दिएको जानकारी अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएकी शाहीको आज विहान घरमै शव फेला परेको थियो । 

शाहीको शव दुई तले घरको माथिल्लो तलामा रहेको खाटमा भेटिएको हो । मृतक शाहीको टाउको, घाँटी र छातीमा गम्भीर घाउ फेला परेको बताउँदै डीएसपी बुढाथोकीले टीकापुर अस्पतालमा पोष्टमार्टमको तयारी भइरहेको बताए । शाही घरमा एक्लै बस्थिन् । प्रहरीका अनुसार उनका एक छोरा काठमाडौं बस्दै आएका छन् भने अर्का छोरा टीकापुरमा बस्दै आएका छन् ।

घटनाबारे खबर प्राप्त गरेर अनुसन्धानमा खटेको प्रहरीले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिसँग सोधपुछ जारी रहेकाले अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

दुई वर्ष अघि अमरावतीको एक सामुदायिक वनमा लागुऔषध प्रयोगकर्ताहरुले एक युवकको घाँटी रेटेर हत्या गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update