Hamro Patra
सशस्त्र प्रहरीको बिओपी स्थापना 

बर्दिया, असार १९
छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बर्दियाको मधुवन नगरपालिका–७ शुक्रबस्तीमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । बिओपीको एक समारोहकाबीच सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी मुख्यालय रूपन्देहीका बाहिनीपति डीआईजी दिपेन्द्र कुँवरले बुधवार उद्घाटन गरेका छन । 

समारोहका प्रमुख अतिथि रहेका डिआईजी कुँवरले पर्दा अनावरण गरेर बिओपी कार्यालयको उद्घाटन गरेका हुन । उनले उद्घाटन समारोहमा बोल्दै सीमा सुरक्षालाई मजबुत बनाउने, चोरी पैठारी रोकथाम, सीमा अपराध नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको बताए । 

उनले सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र आपराधिक गतिविधिमा नियन्त्रण कायम गर्न सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी हुने बताए । 

सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न सिमावर्ती तथा संवेदनशील क्षेत्रमा बेश, बिओपी स्थापना गरी नागरिकको सुरक्षाका साथै आपतकालीन उद्धार, विपद् व्यवस्थापन तथा सीमाको निगरानी गर्दै आईरहेको छ ।

सो अवसरमा सशस्त्र प्रहरी बल बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक मानबहादुर शाही लगायतको समेत उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update