
टीकापुर, असार १९
कैलालीको जानकी गाउँपालिका वडा नं. ९ अमरावतीकी ८० वर्षीया वृद्धा मातादेवी शाहीको हत्या घटनामा प्रहरीले शंकास्पदहरुको पोलिग्राफ परीक्षण गरिरहेको छ ।
असार १७ गते अमरावतीस्थित आफ्नो दुई तले कच्ची घरमा एक्लै बस्दै आएकी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
मृतक शाहीको टाउको, घाँटी र छातीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको घटनाको अनुसन्धान गर्न प्रहरीले शंकास्पदहरुलाई नियन्त्रणमा लिँदै पोलिग्राफ र नमूना परीक्षण गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीन राजा बुढाथोकीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै शंकास्पदहरुलाई नियन्त्रणमा लिने र पोलिग्राफ तथा नमूना परीक्षणको गरेर अनुसन्धान भइरहेको बताए ।
घरमा एक्लै बस्दै आएकी ८० वर्षीया शाहीको हत्यापछि सो क्षेत्रका स्थानीयहरुमा त्रास फैलिएको छ । पछिल्लो समय लागुऔषध दुव्यर्सनीहरुको संख्या बढ्दै जाँदा लुटपाट, हत्या जस्ता घटनाहरु बढ्न थालेपछि स्थानीयहरु त्रसित भएका हुन् ।
दुई वर्ष अघि अमरावतीको एक सामुदायिक वनमा लागुऔषध प्रयोगकर्ताहरुले एक युवकको घाँटी रेटेर हत्या गरेका थिए ।