Hamro Patra
मौषमी तरकारी निर्यात गर्दै टीकापुर

टीकापुर, असार २०
कैलालीको पूर्वी क्षेत्र तरकारी खेतीका लागि चिनिन थालेको छ । पछिल्लो समय तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । उनीहरु मध्ये कोही व्यक्तिगत रुपमा त कोही सामुहिक रुपमा तरकारी खेती गर्दै आएका छन ।

टीकापुर नगरपालिका वडा नम्बर ३ कटानपुरस्थित दिपज्योति महिला कृषक समूहमा २७ जना महिला सहभागी छन् । उनीहरुले १० विगाह क्षेत्रफलमा वर्षको तीन बाली तरकारी खेती गर्छन । उनीहरुले मुख्यगरी काँक्रा, लौका र भान्टा उत्पादन गर्छन् । 

उनीहरुलाई बजारको कुनै समस्या छैन । ‘संकलन गरेर राख्छौं । ब्यापारी आफै गाडी लिएर आउँछन्’ सदस्य देशरानी चौधरीले भनिन्–‘हामीलाई बजारको झण्झट छैन ।’

जानकी गाउँपालिका वडा नम्बर ३ सुवर्णपुरमा रहेको कोशेली कृषक समूहले १५ विगाह क्षेत्रफलमा तरकारी खेती गर्छ । समूहमा ५१ जना सदस्य छन । उनीहरुले आफ्नै जमिनमा तरकारी खेती गर्छन । 

उनीहरुले काउली, बन्दा, टमाटर, खुर्सानी उत्पादन गर्छन । समूहको तरकारी संकलन केन्द्र छ । सबै किसानले संकलन केन्द्रमा तरकारी जम्मा गर्छन् । समूहले टीकापुर, नेपालगञ्ज, सुर्खेतसम्म तरकारी बिक्री गर्दै आएको छ । तरकारी बेचेको रकम समूहले उत्पादन परिमाणका आधारमा किसानलाई भुक्तानी गर्छ । 

‘सामुहिक रुपमा बेच्दा किसानलाई समस्या हुँदैन’ समूहका अध्यक्ष रामकृष्ण चौधरीले भने–‘किसानको काम उत्पादन गर्ने र पैसा बुझ्ने मात्रै हुन्छ ।’

टीकापुर नगरपालिका वडा नम्बर १ वनगाउँस्थित घोटैली कृषक समूहले समेत किसानको तरकारी संकलन गरेर सामुहिक रुपमा बिक्री गर्ने व्यवस्था गरिदिन्छ । समूहमा आवद्ध २५ जना किसानले तरकारी खेती गर्छन । उनीहरुले विगत ८ वर्षदेखि करिब २५ विगाहमा तरकारी खेती गर्दै आइरहेका छन । उनीहरुको उत्पादन टीकापुरका साथै लम्की, चिसापानी, अत्तरीयासम्म फैलिएको छ । 

समूहका सदस्य लालबहादुर चौधरीका अनुसार आवश्यकता अनुसार बजार बिस्तार भैरहेको छ । उनी आफैले १५ कठ्ठामा तरकारी खेती गर्छन । उनले तरकारी खेतीले जीवन निर्वाहमा सहज भैरहेको बताए । 

जानकी गाउँपालिका वडा नम्बर ५ पहाडीपुरका प्रेमप्रसाद जोशी केहीदिन अघि उत्कृष्ठ कृषकका रुपमा सम्मानित भए । उनलाई राष्ट्रपति रामचन्द्र पौडलले सम्मान गरे । खप्तड पशुपंक्षी तथा कृषि फर्मका सञ्चालक रहेका जोशी २०७७ देखि तरकारी खेती गर्दै आइरहेका छन । उनले वैदेशिक रोजगारीको यात्रा छोडेर तरकारी खेती सुरु गरेका हुन । उनी वैदेशिक रोजगारीका क्रममा पाँच वर्ष मलेसिया बसेका थिए । 

उनको सिंगो परिवार तरकारी खेतीमा जुटेको छ । उनले ३ विगाहमा तरकारी खेती गर्छन । उनका छोरा नारायण जोशी समेत वैदेशिक रोजगारीको यात्रा छोडेर तरकारी खेतीमा सकृय छन । उनी दुई वर्ष मलेसिया र एक वर्ष कतार बसेर फर्किएका हुन । ‘हामी सात जनाको परिवार यसैमा जुटेका छौं’ छोरा नारायण जोशीले भने–‘वैदेशिक रोजगारी भन्दा राम्रो आम्दानी भैरहेको छ ।’

उनले तरकारीका लागि बजारको कुनै समस्या नरहेको बताए । उनले कैलालीका ठूलासाना बजार मात्रै हैन नेपालगञ्ज, कोहलपुर, महेन्द्रनगर र सुर्खेतसम्म तरकारी पुर्याउने गरेको बताए । 

टीकापुर नगरपालिका वडा नम्बर ९ दुर्जनपुरका राजुप्रसाद चौधरीले तरकारी खेती सुरु गरेको १२ वर्ष भयो । उनी मौषमी र बेमौषमी दुबैखाले तरकारी उत्पादन गर्छन । उनले हिउँदमा २ विगाह र वर्षायाममा डेढ विगाह क्षेत्रफलमा तरकारी गर्ने गरेको बताए । ‘वर्षायाममा समस्या हुन्छ । त्यही भएर अलि कम गर्छु’ उनले भने–‘हिँउदमा माग अनुसार तरकारी पुर्याउन सकिँदैन ।’

उनले आफ्नो उत्पादन टीकापुर, बर्दियाको राजापुर बजारमै खपत हुने गरेको बताए । उनले चार जनालाई नियमित रोजगारी दिएका छन । उनले कामको चाप अनुसार आंशिक रुपमा ३०/३५ जनालाई रोजगारी दिने गरेको बताए । 

जानकी गाउँपालिका वडा नम्बर ५ पहाडीपुरका महेन्द्र सापकोटाले बुबाले सुरु गरेको तरकारी खेतीलाई व्यवसायीकरण गरे । उनका बुबाले दुई दशक तरकारी खेती गरे । ‘बुबाले थोरै क्षेत्रफलमा गर्नुहुन्थ्यो, मैले त्यसलाई बिस्तार गरे’ उनले भने–‘वर्षायाममा पनि मैले दुई विगाहमा तरकारी खेती गरेको छुँ ।’

उनको बारीमा अहिले लौका र करेला लटरम्म फलेका छन् । जो अहिले बजारमा बिक्री समेत भैरहेको छ । सापकोटाका अनुसार काँक्रा र बोडी बजार जाने तयारीमा छ । 

उनले तरकारीका लागि बजारको कुनै समस्या नरहेको बताए । उनले लम्की, अत्तरीया, महेन्द्रनगरका ब्यापारी बारीमै पुग्ने गरेको जानकारी दिए । 

तरकारी उत्पादनमा रानी जमरा कुलरीया सिँचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाईले सहयोग गर्दै आएको छ । कार्यालयले कृषि औजार, अनुदान, प्राविधिक लगायतका सहयोग गर्दै आएको छ । एकाईले कतिपय समूहमा तरकारी संकलन केन्द्र निर्माण गरिदिएको छ । जसले तरकारीको बजारीकरणमा सहज भएको एकाई प्रमुख भरतप्रसाद कँडेलले जानकारी दिए । 

उनले टीकापुरमा रहेका दुईवटा हाटबजार, अत्तरीयास्थित हाटबजारलाई समेत आयोजनाले सहयोग गरेको बताए । ‘किसानको उत्पादन सहजै बिक्री होस् भनेर नै हाटबजार लगायतमा सहयोग गरेको हो’ उनले भने–‘हाटबजारले किसान उत्साहित भएका छन ।’

उनका अनुसार कैलालीको पूर्वी क्षेत्र मौषमी तरकारीमा आत्मनिर्भर मात्रै नभई निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ । उनले स्थानीय बजार बाहेक यहाँको तरकारी कोहलपुर, सुर्खेत, दाङ र बुटवलसम्म पुग्ने गरेको जानकारी दिए । 

उनले आयोजनाले सहयोग गरेपछि तरकारी उत्पादन गर्ने किसानको संख्या २५ प्रतिशत र उत्पादनमा ४० प्रतिशत बढेको दाबी गरे । 

आयोजनासँग जोडिएका तरकारी खेती गर्ने किसानको संख्या दुई सय रहेको छ । यसका अलावा ७ वटा समूह र २ वटा सहकारीले समेत तरकारी खेती गर्ने गरेको एकाई कार्यालयका नायब प्राविधिक सहायक सम्झना चौधरीले जानकारी दिइन् । उनका अनुसार हाल कार्यालयको रेकर्डमा ९८ विगाह क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । 

बजारको सहजता र आयोजनाको सहयोगका कारण व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानहरुको संख्यामा वृद्धि हुँदै गइरहेको छ । तरकारी खेतीले धेरै किसानको आर्थिक अवस्थालाई सुधारको बाटोतर्फ डोर्याएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update