टीकापुर, असार २०
टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि टीकापुरमा प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउन तयारी थालेको छ । नगरपालिकाले आज टीकापुरस्थित विभिन्न व्यवसायीसँग प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउने बारे छलफल गरेर तयारी थालेको हो ।
छलफलमा नगर प्रमुख रामलाल डगौरा थारुले जल, जमिन, वातावरण र मानिसका लागि निकै हानिकारक मानिएको प्लाष्टिकको झोला प्रयोगलाई निरुत्साहन गर्न सबै नगरबासी तथा व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।
‘हाम्रो वातावरण र मानव स्वास्थ्यका लागि हानिकारक मानिएको प्लाष्टिक झोला मात्रै रोक्न सक्ने हो भने पनि धेरै राहत हुन्छ’ नगर प्रमुख थारुले भने ‘व्यवसायी, उपभोक्ता सबैले सहयोग गरे छिट्टै टीकापुरलाई प्लाष्टिकमुक्त नगर बनाउन सकिन्छ ।’
कार्यक्रमका सहभागीहरुले प्लाष्टिक झोला बन्द गर्ने नगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताउँदै पालिकाले कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष एकिन्द्र तिमिल्सेना, मेडिकल व्यवसायी पुष्पराज उपाध्याय, झलनाथ खनाल, भागरथी बम, खेमराज सिंह कुँवर, भीमबहादुर ठकुल्ला लगायतले बोलेका थिए ।
नगरपालिकाले गत वर्ष नै प्लाष्टिक झोला बन्द गर्न ऐन पारित गरिसकेको छ । ऐनमा प्लाष्टिक झोला बन्द गरेपछि बिक्री गर्ने व्यापारीलाई पहिलो पटकको लागि १ हजार, दोश्रो पटक ३ हजार र तेश्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
ऐनमा प्लाष्टिक झोला प्रयोग गर्ने उपभोक्तालाई समेत जरिवाना गर्ने व्यवस्था छ । ऐनमा उपभोक्ताले प्रयोग गरे पहिलो पटक १० रुपैयाँ, दोश्रो पटक ५० रुपैयाँ र तेश्रो पटक १ शय रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।
पालिकाले जनचेतनामूलक कार्यक्रम गर्ने, छलफललाई प्रभावकारी बनाउने, प्रचार प्रसार गर्ने तयारी थालेको सरसफाई शाखा प्रमुख लोकबहादुर बुढाले जानकारी दिए । पालिकाले साउन १ गतेदेखि टीकापुरमा प्लाष्टिक झोला पूर्ण रुपमा बन्द गर्ने नीति पारित गरेको थियो ।