
टीकापुर, असार २२
टीकापुरस्थित ग्रेट हल एजुकेसनल कन्सल्टेन्सीले ‘हाम्रो प्रतिवद्धता, उत्तरदायित्व र समाजसेवा’ अर्न्तगत आज विविध कार्यक्रम गरेको छ । उसले एसईई परिक्षा २०८१ मा उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने निजी र सामुदायिक विद्यालयका चारजना विद्यार्थीहरुलाई बधाई र सम्मान गरेको छ ।
उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने निजी विद्यालयतर्फ गणेशबाबा बोर्डिङ स्कुलका छात्रा भुवन उपाध्याय र युनाईटेड एकाडेमीका छात्र निखिल लुहारलाई जनही पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।
त्यस्तै सामुदायिक विद्यालयतर्फ कर्णाली मावि टीकापुरका छात्रा क्रिष्टिना पोखरेल र कर्णाली मावि सत्तीका छात्र अंकित टमट्टालाई समेत जनही पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको छ । विद्यार्थीहरुका अभिभावकले सम्मान ग्रहण गरेका छन ।
चारवटै विद्यालयका प्रधानाध्यापकहरुलाई समेत संस्थाले दोसल्ला ओढाएर सम्मान व्यक्त गरिएको छ । सम्मानित हुनेमा कर्णाली मावि टीकापुरका धर्मराज शर्मा, कर्णाली मावि सत्तीका भरत साउँद, गणेशबाबा बोर्डिङ स्कुलका गजेन्द्र बुढा र युनाईटेड एकाडेमीका निरु शर्मा रहेका छन ।
सोही अवसरमा कन्सल्टेन्सी मार्फत जापान गएर निधन भएकी टीकापुर नगरपालिका वडा नम्बर ७ की नविना बोहराका आफन्तलाई आर्थिक सहयोग गरिएको छ । संस्था र विभिन्न व्यक्तिहरुले संकलन गरेको ४ लाख ९२ हजार ४१० रुपैयाँ मृतक बोहराका आफन्तलाई हस्तान्तरण गएिको छ । बोहराको जापान गएको एक महिनाभित्रै निधन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संस्थाले गरेको कार्य प्रति खुशी व्यक्त गरे । उनले उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गर्दा त्यसले अरु विद्यार्थीलाई समेत पढ्नु पर्छ भन्ने कुराको प्रभाव पार्ने बताए ।
उनले सोही अवसरमा दक्ष जनशक्ति विदेश गैरहेको प्रति चिन्ता व्यक्त गर्दै युवाहरुलाई सिप सिकेर स्वदेश फर्किन आग्रह गरे । ‘सकेसम्म यही सम्भावना छ । काम सानो ठूलो भन्नु हुँदैन । काम गर्न लाज नमानौं’ उनले भने–‘जाने नै हो भने चाँडै सिप सिकेर फर्किनुस र स्वदेशमै केही काम गर्नुस ।’
टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन लुहार विकले युवाहरुमा विदेश जाने लहर चलेको बताए । उनले तथ्यांक अनुसार धेरैजसो युवाहरु प्लसटु सक्ने बित्तिकै विदेश गैरहेको बताए ।
‘विदेश जानु रहर त हैन । तपाई हामी सबैको वाध्यता होला’ उनले भने–‘जानु भन्दा पहिले भाषा र सम्बन्धित मुलुकको ऐन कानूनका बारेमा जान्न जरुरी छ ।’
सो अवसरमा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल, टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष योगेश रावल लगायतले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रम कन्सलटेन्सीका प्रबन्ध निर्देशक गणेशबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन बिरेन्द्र साउँदले गरेका थिए ।
संस्थाले गतवर्ष समेत एसईई परिक्षामा उत्कृठ अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी बधाई तथा सम्मान कार्यक्रम गरेको थियो । संस्थाले यसका अलावा विभिन्न प्रकोपमा समस्यामा परेका व्यक्ति र अनाथ, असहायलाई समेत सहयोग गर्ने गरेको छ ।