टीकापुर, भदौ १४
टीकापुर उद्योग वाणिज्य संघले रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै सहयोग रकम घोषणा गरेको छ ।
संघको आज बसेको कार्य समिति बैठकले बाढी पिडितहरुको सहयोगका लागि एक लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष सन्तोष खड्काले आर्थिक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिए । संघले सरकारले बाढी पिडितहरुको व्यवस्थापन लगायतका क्षेत्रमा गरिरहेको पहलकदमीलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको बताएको छ ।
संघले विगतका समयमा समेत विभिन्न क्षेत्रमा आईपर्ने समस्यामा सहयोग गर्दै आईरहेको छ । संघले यसअघि नै बाढीले पुर्याएको क्षतिका बारेमा दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, घाईतेको उपचार सहित स्वास्थ्य लाभको कामना, बेपत्ताको खोजीका साथै घरबारबिहिनको बसोबासको व्यवस्थाको माग गरेको छ ।
भदौ १० गते अचानक आएको बाढीले ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ७३४ जनाको शव फेला परेको छ भने २ हजार ४९८ जना बेपत्ता छन ।
प्राविकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६, चितवनमा २५९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहिन छन ।
त्यस्तै रसुवाका ५६२ र नुवाकोटका ११५ जना सम्पर्कविहिन छन । प्राधिकरणका अनुसार विभिन्न जनविद्युत आयोजनाबाट ९३३ जना सम्पर्कविहिन छन । त्यस्तै मकवानपुरका ६५ जना र ५९८ जना विदेशी नागरिकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक र लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना सम्पर्कविहिन छन ।
बाढीमा परेर २४२ जना घाईते भएका छन । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । प्राधिकरण का अनुसार ८ हजार १८६ जनाको उद्दार गरिएको छ ।






