Hamro Patra
नेपालगन्जबाट भारतीय रेल सेवा सुरु

नेपालगन्ज, भदौ १६

बाँकेस्थित नेपाल भारत नाकाको नेपालगन्ज रोडबाट सिधै भारतको अयोध्या, गोरखपुर र बनारसका लागि ब्रोडगेज रेल सेवा सुरु भएको छ । सोमबारबाट सुुरु गरिएको सो रेल सेवाले नेपाल र भारतबिच धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै व्यापार व्यवसायको पनि नयाँ ढोका खुल्ने जनाइएको छ । 

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका केन्द्रीय रेल मन्त्री अश्विनी बैष्णवले संयुक्त रुपमा रेल सेवाको उद्घाटन गरेका हुन् । 

लामो समयको प्रतिक्षापछि सञ्चालमा आएको सो रेल सेवाले नेपालबाट भारतको अयोध्या, गोरखपुर र बनारससम्म जाने नेपाली तिर्थयात्रुसँगै ती स्थानबाट नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर जाने भारतीय तिर्थयात्रुलाई सहज हुने पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए । 

उनले अब सो रेल सेवाको माध्यमबाट नेपालमा ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने र भारतका तिर्थस्थलमा जाने नेपाली नागरिकलाई पनि सहज हुने बताए । 

संयोजक श्रेष्ठले भने–‘अब पश्चिम नेपालका नेपालीका लागि अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखधाम र बनारसको विश्वनाथ मन्दिर पुग्न सहज भएको छ, सोही प्रकारले उताका धार्मिक पर्यटकलाई पनि नेपालका धार्मिकस्थल पुग्न निकै सहज भएको छ ।’ 

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज नजिकैबाट यति राम्रो रेल सेवा शुरु भएपछि यसको प्रत्यक्ष लाभ सबैभन्दा पहिले यो सहरले नै पाउने बताए । उनले यसले गर्दा धार्मिक पर्यटनको विकाससँगै आर्थिक विकासमा पनि टेवा दिने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update