टीकापुर, भदौ १७
कार्यवाहक नगर प्रमुख सम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको टीकापुर नगरपालिकाको कार्यपालिका बैठक अहिले बस्ने भएको छ ।
हालै मात्र सरुवा भएर आएकी प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलालाई बजेट कार्यान्वयनको अख्तियारी दिने सम्बन्धी एजेण्डामा छलफल गर्न कार्यपालिका बैठक बस्ने भएको हो ।
बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेर पालिकाका अन्य कामकारवाही गर्दै आएका कार्यबाहक नगर प्रमुख रामबहादुर नगार्जीले अख्तियारी दिन अस्वीकार गर्दै आएको विषयमा कार्यपालिका भित्र छलफल हुनेछ ।
नगार्जीले अख्तियारी दिन अस्वीकार गरेका खण्डमा कार्यपालिकाको बैठकबाट कार्यबाहक उपप्रमुख चयन गरेर भए पनि पालिकालाई निकास दिने तयारीमा वडाध्यक्षहरु रहेका छन् ।
यसअघि भएका छलफलमा कार्यपालिकाको निर्णयबाट नगार्जीलाई अख्तियारी दिन वडाध्यक्षहरु तयार भए पनि नगार्जीले आफू अनुपस्थित रहेको नगर सभाबाट पारित बजेटको कार्यान्वयन गर्न अख्तियारी दिन नसकिने बताउँदै आएका छन् । पालिकाले अख्तियारी नदिँदा साउनबाटै कार्यान्वयनमा जानुपर्ने बजेट भदौको आधा बितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन ।
हालै रसुवामा आएको बाढीमा परी टीकापुरका स्थानीयहरु प्रभावित भइरहँदा समेत कार्यवाहकको विवादले उनीहरुको अवस्थाबारे सहजीकरण हुन सकेको छैन ।





