टीकापुर, भदौ १७
टीकापुर नगरपालिकाको ६९औं कार्यपालिका बैठकले अन्ततः बजेट कार्यान्वयनको बाटो खोल्ने निर्णय गरेको छ ।
कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यबाहक नगर प्रमुख नगार्जीले नै अख्तियारी दिने निर्णय गरेपछि बजेट कार्यान्वयनको बाटो खुल्ने भएको हो ।
टीकापुर नगरपालिकामा दुई साताअघि सरुवा भएर आएकी प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलालाई बजेट कार्यान्वयनको अख्तियारी दिने सम्बन्धी विवादका कारण भदौ महिनासम्म बजेट कार्यान्वयन हुन सकेको थिएन ।
नगार्जीले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा आफ्नो अनुपस्थितिमा भएको नगर सभाबाट स्वीकृत बजेट कार्यान्वयनको अख्तियारी दिन नसकिने बताउँदै आएका थिए ।
आज बसेको कार्यपालिका बैठकले निर्णय गर्दै नगार्जीले नै प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय गरेपछि बजेट कार्यान्वयनको बाटो खुलेको हो ।
कार्यपालिका सदस्य एवं वडा नं. ८ का अध्यक्ष दीर्घ ठकुल्लाले कार्यपालिकाको बैठकको निर्णयबाट कार्यवाहक नगर प्रमुख नगार्जीलाई अख्तियारी दिने सहमति भएको बताए ।
‘कार्यपालिका बैठकले निर्णय गरेर कार्यवाहक नगर प्रमुख नगार्जीले नै अख्तियारी दिने गरी निर्णय भएको छ’ अध्यक्ष ठकुल्लाले भने ‘आजको बैठकबाट बजेट कार्यान्वयनको बाटो खुलेको छ ।’
कार्यवाहक सम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेपछि अख्तियारी कसले दिने भन्ने कानुनी जटिलता थपिएको थियो ।





