Hamro Patra
पालिकाको विकास, सुशासन र समृद्धिका लागि प्रतिबद्ध छुः बास्तोला

टीकापुर, भदौ १७
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले पालिकाको विकास, सुशासन र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने बताएकी छन् । टीकापुरस्थित सञ्चारकर्मीहरुसँग आयोजित परिचयात्मक कार्यक्रममा प्रशासकीय अधिकृत बास्तोलाले सो कुरा बताएकी हुन् । 

दुई साताअघि सरुवा भएर नगरपालिकामा आएकी बास्तोलाले कानुनतः नगरबासीको हित, विकास, सुशासन, समृद्धि र पारदर्शिता नै आफ्‌नो प्रमुख उद्देश्य रहेको बताइन् । 

‘मन्त्रालयले सरुवा गरेपछि म यहाँ हाजिर भएको हुँ’ प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले भनिन् ‘पालिकाको जिम्मेवारीमा जति दिन बस्छु, पालिकाको विकास, सुशासन र समृद्धिका लागि काम गर्नेछु, तर कानुन भन्दा बाहिर जाने छुट मलाई पनि छैन ।’

उनले सञ्चारकर्मीसँग छलफल गर्दै पालिकाले गरिरहेका काम, कारवाहीहरु सहज रुपमा नागरिकसम्म पुर्याई दिन आग्रह गरिन् । ‘कतिपय राम्रा कामहरु पनि भएका छन्, तर ती जनतासम्म पुग्न सकेका छैनन्‌’ उनले भनिन् ‘यहाँहरुबाट मैले पालिकाका कामहरु, सूचनाहरु नगरबासीसम्म सहज रुपमा जाउन् भन्ने अपेक्षा गरेको छु ।’

कार्यक्रममा सहभागी पत्रकारहरुले पालिकाले सही सूचना समयमा उपलब्ध गराउन र नागरिकस्तरका सुझावहरुलाई व्यवहारमा लागु गर्न आग्रह गरेका थिए । पालिकाको लोककल्याणकारी विज्ञापनलाई प्रभावकारी बनाउन, सूचना प्रवाह सहज बनाउन र पालिकाको हितमा तटस्थ भएर काम गर्न पत्रकारहरुले सुझाव दिएका थिए । 

कार्यक्रममा टीकापुरस्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update