अविनाश चौधरी
धनगढी, भदौ २८
प्रकृति पूजक थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ । सूर्यदेवताको उपासना गर्दै यस समुदायका मानिसले आइतबारदेखि दुई दिनसम्म अट्वारी पर्व मनाइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । पानीसमेत नखाई निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको थारू समुदायका व्यक्तिहरूले बताएका छन् ।
सूर्यले ताप, शक्ति र उज्यालो दिने भएकाले अट्वारी पर्वमा सूर्यदेवताको पूजा गरेमा सुख, शान्ति र दीर्घजीवन प्राप्त हुने थारू बुद्धिजीवी एवं साहित्यकार छविलाल कोपिलाको भनाइ छ । उनले थारू समुदाय प्रकृति पूजक भएकाले अग्निपूजाका रूपमा सूर्यदेवताको पूजा गरी अट्वारी पर्व मनाउने गरेको बताए ।
अट्वारी पर्व मनाउनुको एउटा कारण महाभारतसँग पनि जोडिएको बताइन्छ । पाँच पाण्डवमध्येका माइला भाइ भीमले अप्ठ्यारोमा परेकी थारू चेलीलाई सहयोग गरेका कारण भीम अर्थात् भेँवाको पूजाआराधना गरेर अट्वारी मनाउने गरिएको किंवदन्ती छ ।
भीमले तावामा राखेको रोटी एकातर्फबाट मात्रै पाकेकाले अट्वारीमा खाने अनदीको रोटी पनि एकातर्फबाट मात्रै पकाउने गरिएको कैलारी गाउँपालिका वडा नं. ७, रतनपुरका दीपक चौधरीले बताए ।
यसैगरी, थारू राजा दङ्गीशरणलाई पाँच पाण्डवमध्येका भीमले लडाइँमा सहयोग गरेका कारण भीमको सम्झनामा थारू समुदायले अट्वारी पर्व मनाउन थालेको अर्को किंवदन्ती पनि छ । यो पर्वमा मध्यरातमा भिन्सर्या भात (दर) खाएपछि पर्वको पहिलो दिन आधा दिनसम्म निराहार व्रत बस्ने चलन छ । व्रतालुले दिउँसोतिर नुहाइधुवाइ गर्ने र अग्यारी (गुइँठाको आगो) बालेर विधिपूर्वक पूजा गर्ने गरेका छन् ।
व्रतालुले पूजाआजा गरेपछि मात्रै जल ग्रहण गर्नुका साथै अनदीको रोटी, फलफूल र दूध खाने चलन रहेको चौधरीले बताए । ‘यी परिकार खानुभन्दा अगाडि व्रतालुले एक भाग निकालेर आफ्ना विवाहित दिदीबहिनीका लागि छुट्टै राख्ने चलन छ’ उनले भने । पर्वको दोस्रो दिन पनि व्रतालुले बिहान स्नान गरेर पूजाआजा गर्ने र घरमा बनाइएका विभिन्न परिकार खाने चलन छ । यस दिन खरिया, फूलौरी, खुर्मा, माछा, मासुलगायत परिकार खाने गरिन्छ ।
पर्वको अन्तिम दिन बिहान अन्न ग्रहण गर्नुलाई ‘फरहार’ भन्ने गरिन्छ । खानुभन्दा अगाडि सबै परिकारको एक भाग विवाहित दिदीबहिनी वा छोरीका लागि छुट्टै राखिन्छ । यसरी परिकार छुट्याएर राखेपछि मात्रै व्रतालुले खाने चलन छ ।
अनदीको रोटीसहित खानाका सबै परिकार पर्वको दोस्रो दिन विवाहित छोरीचेलीलाई पर्वको उपहारका रूपमा दिने गरिन्छ । यसलाई ‘अग्रासन’ भनिन्छ । विवाहित चेलीबेटी यो पर्वमा अग्रासनको पर्खाइमा बस्ने भएकाले कतिपयले आफ्ना दिदीबहिनी वा चेलीका लागि व्रत बस्ने गरेको बताइन्छ ।
अट्वारी पर्व सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको पर्व रहेको स्थानीय गौरीदेवी चौधरीले बताए । उनका अनुसार यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ ।
गोरखापत्रबाट





