Hamro Patra
कैलालीमा फैलिँदो अनलाइन ठगी

उन्नती चौधरी 
धनगढी, भदौ २९ 

१५ साउनको बिहानै सपना थापा निराश अनुहार लिएर जिल्ला प्रहरी कार्यालय कैलाली पुगिन्। हातमा उजुरीको फारम र बैंकका कागजपत्र थिए।

एक गैरसरकारी संस्थामा संलग्न सपनाको बैंक खाताबाट अघिल्लो दिन साँझ करिब ६ बजे एक-एक लाख रुपैयाँ गरी दुई पटकमा दुई लाख रुपैयाँ काटिएको थियो।

रकम काटिएको थाहा पाएलगत्तै उनले प्रहरीलाई खबर गरिन्। इमेल आईडीको पासवर्ड र मोबाइल बैंकिङको कोडसमेत परिवर्तन गरिन्। तर त्यसको केही घण्टामै फेरि ६ हजार र चार हजार रुपैयाँ काटियो। उनको खाताबाट कुल दुई लाख १० हजार रुपैयाँ हराइसकेको थियो।

उनले प्रहरीलाई मात्रै होइन, बैंकलाई पनि तत्काल जानकारी गराएकी थिइन्। तर आफ्नो वर्षभरिको मेहनतको रकम केही समयमै गुमेपछि उनी निराश थिइन्। धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी सपना भन्छिन्, ‘म त स्क्याममा परेर सुकुम्बासी भएँ, अब कसरी चल्ने होला, दिमागले काम नै गरिरहेको छैन।’ 

उनी बिहानै बैंक पुगेर रकम कहाँ गएको हो भन्ने विवरण लिएर प्रहरी कार्यालय पुगेकी थिइन्। उनको मुख्य चिन्ता थियो– गुमेको पैसा फिर्ता आउँछ कि आउँदैन? उजुरी दर्तापछि उनले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनासँग पनि भेटिन्। सपनाका अनुसार तिमिल्सेनाले रकम फिर्ता गराउन प्रयास गर्ने तर धेरैजसो घटनामा ठगी गर्ने व्यक्ति बाहिर बसेर यस्तो काम गर्ने भएकाले रकम फिर्ता गराउन कठिन हुने बताएका थिए।

त्यसपछि पनि सपनाले ‘फलोअप’ गर्न छाडिनन्। कहिले फोन गरेर त कहिले प्रहरी कार्यालयमै पुगेर आफ्नो रकम के भयो भनेर सोधिरहेकी छन्। अहिलेसम्म रकम फिर्ता नपाएको उनी बताउँछिन्।

धनगढीस्थित न्यू लुक ब्युटी पार्लर सञ्चालक आशा चौधरी पनि एक महिनादेखि जिल्ला प्रहरी कार्यालय धाइरहेकी छन्। उनका श्रीमान् सीताराम चौधरीको बैंक खाताबाट रकम गएपछि उनी ठगीबाट गएको रकम रोक्का गरी पाऊँ भन्दै प्रहरी कार्यालय पुगेकी थिइन्।

साउन २३ गते खाताबाट रकम गएपछि उनीहरू भोलिपल्टै बैंकका कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए। बैंक विवरणअनुसार सुरुमा पठाइएको एक हजार २०० रुपैयाँबाहेक खाताबाट थप ७३ हजार ८८५ रुपैयाँ ५८ पैसा अर्को खातामा गएको देखिन्छ।

उक्त रकम फिर्ता पाउन आशा पटकपटक प्रहरी कार्यालय धाइरहेकी छन्।

कसरी भयो ठगी ?

सपनाको मोबाइलमा साँझ ५:५७ बजे ह्वाट्सएपबाट फोन आएको थियो। फोन गर्ने व्यक्तिले आफू इसेवाको केन्द्रीय कार्यालयबाट बोलेको भन्दै चार हजार रुपैयाँ बोनस परेको र तत्काल निकाल्न सुझाएको सपना बताउँछिन्।

सुरुमा उनलाई विश्वास लागेन। आफूलाई बोनस नचाहिएको भन्दै उनले बेवास्ता गरिन्। केही समयपछि फेरि फोन आयो। आफूले केही गर्नुनपर्ने, इमेल आईडी खोलेर बसे उतैबाट रकम पठाइदिने भनियो। सपना भनेअनुसार गर्दै गइन्। अन्तिममा उताबाट स्क्रिन सेयर गरेपछि खाताबाट रकम झिकिएको सन्देश आयो। त्यसपछि मात्रै आफू ठगीमा परेको थाहा पाएको उनी बताउँछिन्।

आशाको घटना फरक छ। टिकटकमा बच्चाका लागि खेलौना मोटरसाइकल र स्कुटरको विज्ञापन देखेपछि उनका श्रीमान् सीतारामले छोराका लागि खेलौना किन्ने योजना बनाए। चार हजार रुपैयाँ मूल्य राखिएको खेलौना अर्डर गर्न विज्ञापनमा ह्वाट्सएप नम्बर दिइएको थियो।

सीतारामले त्यही नम्बरमा सम्पर्क गरे। उताबाट सामान बुक गर्न पहिले एक हजार २०० रुपैयाँ पठाउन र बाँकी रकम सामान पुगेपछि तिर्न भनियो। उनले तत्काल रकम पठाए ।

तर पैसा नपुगेको भन्दै फेरि फोन आयो र आफ्नो बैंक स्टेटमेन्ट जाँच्न भनियो। सीतारामले मोबाइल बैंकिङमा लगइन गरेर स्टेटमेन्ट हेरे। केही समयमै खाताबाट ७३ हजार ८८५ रुपैयाँ ५८ पैसा झिकिएको सन्देश आयो। पैसा कहाँ गयो भनेर बुझ्न उनीहरू तत्काल बैंक पुगे। ठगीमा परेको थाहा पाएपछि प्रहरीलाई पनि खबर गरे। अहिलेसम्म रकम फिर्ता नपाएको आशा बताउँछिन्।

प्रलोभनमा गुम्यो पाँच लाख

कैलालीस्थित घोडाघोडी एफएमका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीलाई ७ साउन २०८२ मा टेलिग्रामको एउटा च्यानलमा जोडेर पैसा लगानी गर्न भनियो। लगानीको तीन गुणाभन्दा बढी फाइदा हुने प्रलोभन देखाइएपछि उनले सोही दिन बैंक खातामा १५ हजार रुपैयाँ पठाए।

८ साउनमा फेरि अर्को खातामा १५ हजार रुपैयाँ पठाए। त्यसपछि १७ हजार रुपैयाँ पठाए एक लाख रुपैयाँभन्दा बढी आउने भनियो। उनले फेरि रकम पठाए। यसरी उनी एकपछि अर्को गर्दै रकम पठाउँदै गए। १५ साउनमा मात्रै उनले एउटा खातामा एक लाख ९० हजार रुपैयाँ पठाएका थिए। विभिन्न पटक गरी उनले कुल पाँच लाख १७ हजार ४४० रुपैयाँ गुमाए।

उक्त च्यानलमा आफूले राम्ररी चिन्ने थारू अगुवा ठाकुर करिया प्रधानलाई पनि जोडिएको देखेपछि विश्वास गरेको हरेन्द्र बताउँछन्। पाँच लाख रुपैयाँभन्दा बढी पठाइसकेपछि उनलाई च्यानलबाट ब्लक गरियो। त्यसपछि उनले साउन १७ गते साँझ ठाकुरलाई फोन गरे। तर ठाकुरलाई उक्त च्यानलबारे कुनै जानकारी थिएन। ठाकुरको नाम र फोटो देखेर आफूले विश्वास गरेको हरेन्द्र बताउँछन्। ठाकुरसँग कुरा गरेपछि मात्रै आफू ठगिएको निश्चित भएको उनको भनाइ छ।

उता आफ्नो फोटो प्रयोग गरेर अरूलाई ठगी गरिएको थाहा पाएपछि ठाकुर पनि चिन्तित भए। विदेशमा खिचिएको उनको फोटो च्यानलको प्रोफाइलमा प्रयोग गरिएको थियो। उनी १८ गते बिहानै जिल्ला प्रहरी कार्यालय पुगेर साइबरसम्बन्धी मुद्दा हेर्ने प्रहरीसँग सल्लाह लिए। 

प्रहरीको सल्लाहबमोजिम ठाकुरले हरेन्द्रलाई उजुरी दिन सुझाए। त्यसपछि हरेन्द्रले आफूले रकम पठाएका बैंक खाताको विवरणसहित उजुरी दिए। उजुरी दिएको एक वर्षभन्दा बढी भए पनि रकम फिर्ता नपाएको हरेन्द्र बताउँछन्।

सुदूरपश्चिम प्रदेश प्रहरीमा साइबरसम्बन्धी मुद्दा हेर्ने आईटी कर्मचारी जीवन चौधरी डिजिटल हिंसा, ठगी वा अन्य साइबर अपराधमा परे तत्काल प्रहरीमा उजुरी दिन आग्रह गर्छन्। तर रकम गुमाएका पीडितका लागि उजुरी दिएपछि पनि पैसा फिर्ता पाउने प्रक्रिया सहज छैन।

साढे आठ करोडको ठगी उजुरी

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा अनलाइन ठगीसम्बन्धी ३३९ निवेदन दर्ता भएका छन्। ती निवेदनमा ठगी भएको भनी उल्लेख गरिएको रकम जोड्दा आठ करोड ५३ लाख १४ हजार ९४८ रुपैयाँ पुग्छ। दर्ता भएका निवेदनमध्ये ४१ वटा फर्छ्योट भएका छन्। ती घटनामा ४० लाख ९३ हजार ३८० रुपैयाँ फिर्ता भएको प्रहरीको तथ्यांक छ। 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २४७ निवेदन दर्ता भएका थिए। ती निवेदनमा ठगी भएको भनी उल्लेख गरिएको रकम ९३ लाख १४ हजार २७० रुपैयाँ थियो। त्यसमध्ये ७२ निवेदन फर्छ्योट हुँदा १६ लाख २३ हजार ४९० रुपैयाँ फिर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेना बताउँछन्।

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ २४ गतेसम्म अर्थात् एक महिना २४ दिनमै ७५ निवेदन दर्ता भइसकेका छन्। ती निवेदनमा ३२ लाख १९ हजार १३३ रुपैयाँ ठगी भएको उल्लेख छ। आठ वटा निवेदन फर्छ्योट हुँदा आठ लाख ५० हजार ७५० रुपैयाँ फिर्ता भएको प्रहरीको तथ्यांक छ।

ठगी गर्ने व्यक्तिले छोटो समयमै रकम विभिन्न बैंक खातामा स्थानान्तरण गर्ने भएकाले रकम पत्ता लगाउन र फिर्ता गराउन कठिन हुने तिमिल्सेना बताउँछन्। अन्तर्राष्ट्रिय तथा अज्ञात सर्भर, ह्वाट्सएप र टेलिग्रामजस्ता एप, नक्कली आईडी तथा विदेशबाटै गिरोह सञ्चालन गर्ने प्रवृत्तिका कारण मुख्य व्यक्तिसम्म पुग्न कठिन हुने उनको भनाइ छ।

विशेषगरी बैंक तथा डिजिटल वालेटको कार्यालयबाट बोलेको भन्दै पीडितको बैंक खाताको पहुँच लिएर ठगी गर्नुका साथै उपचार वा चिट्ठा परेको र पार्सल आएको भन्दै प्रलोभनमा पारेर रकम असुल्ने घटना देखिएको तिमिल्सेना बताउँछन् । 

नेपालन्यूजबाट

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update