Hamro Patra
काँग्रेसले तोक्यो पाँच जिल्लामा कार्यवाहक सभापति

काठमाडौं, भदौ ३१
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार ३ असोजबाट सुरु हुने वडा अधिवेशनसहितको १५ औं महाधिवेशन प्रक्रिया अघि नबढाउने पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको छ ।

काँग्रेसले ३ असोजबाट सुरू हुन गइरहेको वडा अधिवेशन प्रक्रिया अघि बढाउन कञ्चनपुर, कैलाली, डोटी, मुग र बाग्लुङमा कार्यवाहक सभापति तोकेको हो । ती जिल्लाहरूमा केन्द्रले कार्यवाहक सभापति तोकेर महाधिवेशन प्रक्रिया अघि बढाइएको छ ।

काँग्रेस महामन्त्री गुरूराज घिमिरेले पाँच जिल्ला सभापतिहरूले ३ असोजबाट सुरू हुने महाधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने बताएपछि कार्यवाहक सभापति तोकेर जिम्मेवारी दिइएको जानकारी दिए ।

‘कैलाली सभापतिले ३ र १६ को कुनै पनि महाधिवेशनमा सहभागी हुन्न भन्नुभयो । उहाँले नै कार्यवाहक तोक्नुभएको उपसभापति खेम चौधरीजीले वडा सम्मेलन गर्नुहुन्छ’ उनले भने, ‘कञ्चनपुर, डोटी, बाग्लुङ, मुगुमा कार्यवाहक सभापति तोकिएको छ ।’

महामन्त्री घिमिरेले बझाङ, डडेल्धुरा र भक्तपुरका जिल्ला सभापतिहरूले वडा अधिवेशन गर्ने जानकारी केन्द्रमा गराएको बताए । उनीहरूले बिहीबारसम्म प्रष्ट निर्णय नगरे कार्यवाहक सभापति तोकेर अघि बढ्ने बताए ।

‘बझाङ, डडेल्धुरा र भक्तपुरका जिल्ला सभापतिहरूले ३ असोजको वडा अधिवेशन अघि बढाउँछु भन्नुभएको छ’ उनले भने, ‘आजसम्म निश्चित नभए कार्यवाहक तोकिन्छ ।’ बाँकी ६९ जिल्ला सभापतिहरू सबै ३ असोजमा वडा अधिवेशनको तयारीमा जुटेको महामन्त्री घिमिरेले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update