Hamro Patra
बडिमालिकाबाट फर्किदै गरेका दुई जना सम्पर्कविहीन

टीकापुर, कात्तिक १४
चर्चित धार्मिक स्थल बाजुराको बडीमालिका दर्शन गरेर फर्किने क्रममा भारी हिमपातमा परेका दुई जना सम्पर्कविहीन भएका छन् । शुक्रबारदेखि वर्षासँगै हिमपात भएपछि कञ्चनपुरका मनिष बोहरा र सागर कार्की सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका वडा नं. २ का २१ वर्षीय सागर कार्की सम्पर्कविहीन छन् ।

असोज ९ गते बाजुराको सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । टोलीमा रहेका पूर्वका तीन जना दर्शन गरेर फर्किसकेका छन् । मनिष र सागर भने फर्किने क्रममा छुट्टिएका थिए ।

प्रहरीका अनुसार शुक्रबारदेखि मनिषसँग सम्पर्क हुन सकेको छैन । सागरले भने फोन सम्पर्कका क्रममा बडीमालिकाबाट फर्किने बेला साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी गराएका थिए । त्यसपछि सागरसँग पनि सम्पर्क हुन नसकेको प्रहरी निरीक्षक शाहीले बताए ।
‘सागरसँग हिजो फोनमा कुरा हुँदा फर्किने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको बताएका थिए’ शाहीले भने, ‘भारी हिमपातका कारण उनीहरू अलपत्र परेको देखिन्छ । अहिले मोबाइलसमेत अफ छ ।’

समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा हिमपात भएपछि उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । जिल्लामा शुक्रबारदेखि वर्षासँगै बडीमालिकालगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

सम्पर्कविहीन दुवै पर्यटकको खोजी तथा उद्धारका लागि सदरमुकाम मार्तडीबाट प्रहरी टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रतिकूल मौसम र बाक्लो हिउँका कारण उनीहरू रहेको स्थानसम्म पुग्न कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update