Hamro Patra
खुकुरी प्रहार गरी लुटपाट गर्ने दुईजना पक्राउ

टीकापुर, कात्तिक १४
कैलालीमा खुकुरी प्रहार गरी घाइते बनाएर नगद तथा मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नं. ६ पर्सेनीका दुई युवकले मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. ६ पर्सेनीका २५ वर्षीय अमित रावल र २४ वर्षीय शुलभ विक्रम शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार कात्तिक ९ गते राति उनीहरुले टीकापुर नगरपालिका वडा नं. ६ मखन चौराहामा मोटरसाइकलमा सवार टीकापुर नगरपालिका वडा नं. ३ पुष्पीका ३२ वर्षीय सुरज चौधरीमाथि खुकुरी प्रहार गरेका थिए । चौधरीलाई घाइते बनाएर नगद र मोबाइलसमेत लुटपाट गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग तथा डाँका चोरी’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update