(1).jpg)
टीकापुर, भदौ २२
टीकापुर नगरपालिकाले दैनिक प्रशासनिक कार्य बाहेकका सबै सेवाहरु बन्द गरेको छ । आज प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले एक सूचना जारी गरी भदौ ३१ गतेसम्मका लागि दैनिक प्रशासनिक बाहेकका सबै सेवाहरु स्थगित गरिएको जानकारी दिएका छन ।
नगरपालिकाले केन्द्रबाट मात्र नभई वडा कार्यालयबाट प्रदान गर्दै आएको सेवा समेत स्थगित गरेको छ । उसले वडा कार्यालयबाट समेत दैनिक प्रशासनिक कार्यहरु मात्रै सम्पादन हुने बताएको छ ।
प्रमुख जिल्ला अधिकारीले २०७७ भदौ १७ गते सेवाग्राहीको अत्याधिक भिडभाड हुने कार्यालयहरुले दैनिक प्रशासनिक बाहेकका अन्य सेवाहरु हाललाई स्थगित गर्नु भनेर जारी गरेको आदेशानुसार नगरपालिकाले सेवा स्थगित गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको, धेरै व्यक्तिहरु संक्रमित भएको र केहीको मृत्यु समेत भएको अवस्था हुँदा उक्त महामारी रोकथाम एवम् नियन्त्रणको लागि आम जनजीवन समेतलाई असर नपर्ने गरी संक्रमण फैलिन सहायक हने खालका क्रियाकलाप निषेध गर्ने गरी आदेश जारी गरेको छ ।
समुदायमा कोरोना फैलिए पछि सरकारले लामो समयदेखी लकडाउन गर्दै आएको छ । पछिल्लो समयमा लकडाउन केही खुकुलो पारिएको छ । लकडाउन खुकुलो भएपनि जनजीवन अझै सामान्य बन्न सकेको छैन ।
एकातिर कोरोना संक्रमण बढ्दै गैरहेको र अर्कोतिर जनजीवन असामान्य बन्दै गएपछि सरकारको निकै आलोचना भैरहेको छ । सरकारले कोरोना रोकथामका लागि ठोस पहल गर्न नसकेको जनस्तरबाट आलोचना भैरहेको छ ।