Hamro Patra
किसान सहकारीद्धारा 'किसान अक्सिजन बैंक'को स्थापना

टीकापुर, बैशाख २४

कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले किसान अक्सिजन बैंकको शुरुवात गरेको छ । कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा अकालमा ज्यान जान नदिन सहकारीले किसान अक्सिजन बैंकको स्थापना गरेको हो ।

सहकारीले अक्सिजन बैंकमा आफ्नो तर्फबाट ४० थान अक्सिजन सिलिण्डर जम्मा गर्दै सहयोगका लागि विभिन्न व्यक्ति, संघ, संस्था तथा निकायहरुलाई अपिल गरेको छ ।

कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, लम्कीचुहा अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अक्सिजन बैंकको स्थापना गरेर अभियान शुरुवात गरिएको सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए ।

‘सहकारीका तर्फबाट १० लाख रकम छुट्याइएर तत्काल ४० सिलिण्डरको व्यवस्था गरेका छौं’ शाहले भने ‘यो स्वयम्सेवी अभियान हो, यसमा जोडिन सबैलाई अपिल गर्दछौं ।’

शाहले संस्थाका तर्फबाट सहयोग भन्दै आवश्यकताका आधारमा अक्सिजन सिलिण्डर उपलब्ध गराइने बताए । अक्सिजनको अभावमा कोरोना संक्रमितहरुको उपचारमा समस्या भएपछि अभियान शुरुवात गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update