Hamro Patra
टीकापुरमा निषेधाज्ञा फितलो

टीकापुर, जेठ १४

जिल्ला प्रशासन कार्यालय कैलालीले पटक पटक निषेधाज्ञा थप गरे पनि त्यसको कार्यान्वयन भने फितलो हुँदै गएको छ । तिब्र रुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले पाँचौं पटक निषेधाज्ञा थप गरिसकेको छ ।

निषेधाज्ञामा जिल्लामा रहेका सबै बजारहरु पूणर् रुपमा बन्द गर्ने निणर्य गरिए पनि टीकापुर, लम्की, बौनियाँ, सुख्खड, अत्तरिया र धनगढी जस्ता मुख्य बजारका पसलहरु आंशिक रुपमा खुल्ला हुदैँ आइरहेका छन् । अन्य पसलहरुमा समेत बिहानैदेखि भिडभाड हुने गरेको छ । प्रहरीले ९ बजे पछि मात्रै बन्द गराउँदै आएका छन् ।

विहान पख बन्द गराउने गरेको भए पनि दिनको समयमा प्रायः मान्छेहरु आउजाउ गरिरहने हुनाले झै जोखिम बढेको टीकापुरका धनबहादुर चौधरीले बताए ।

यस्तै धनगढीका प्रायः बैंकहरुमा भिडभाड हुने गरेको छ । यस्तै प्रशासनले खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री लगायत अत्यावश्यक सामग्रीका पसल बाहेक अन्य पसल/व्यवसायहरु हाललाई बन्द गर्ने निणर्य गरेको थियो ।

खाद्य सामग्री, तरकारी, फलफूल पसल/व्यवसायहरु हरेक मंगलबार, बिहीबार र शनिबार गरी हप्ताको ३ (तीन) दिन बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूणर् रुपमा पालना गर्ने गरी सञ्चालन गर्ने भने पनि ९ बजे पछि समेत कतिपय किराना पसलहरु खुल्ला हुने गरेका छन् ।

जिल्लामा वैशाख १६ गतेदेखि शुरु भएको निषेधाज्ञा जेठ २० गतेसम्म थप गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update