टीकापुर, जेठ १५
कैलालीको टीकापुर बजार क्षेत्रमा पछिल्ला केही दिनयता चोरीका घटनामा संलग्न गिरोह पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले लामो समयदेखि चोरीमा संलग्न उक्त गिरोहका पाँच जनालाई पक्राउ गरेको हो ।
कोरोनाको दोश्रो लहर फैलिएसँगै भएको निषेधाज्ञाको मौका छोपी उक्त गिरोहले टीकापुरको मुख्य बजार क्षेत्रका पसलहरुमा चोरी गर्दै आएको थियो ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मधुसुदन न्यौपानेले दिएको जानकारी अनुसार प्रहरीले उक्त गिरोहका पाँच जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा पथरी मोरंगका १९ वर्षीय अनमोल बर्देवा, गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाँडा कैलालीका १८ वर्षीय राजु बादी, टीकापुर नगरपालिका वडा नं. १ एकतानगर शिविरका १९ वर्षीय सुनिल परियार सहित शिविरकै दुई जना नाबालक रहेका छन् । चोरीमा संलग्न समूहका नाइके भने फरार रहेका छन् । उनीहरुबाट चोरी भएको सामानहरु समेत बराम गरिएको प्रहरीले जनाएको छ ।
भारतको दिल्लीमा बसोबास गर्दै आएका बर्देवा साथीको घर एकतानगर शिविरमा बस्दै चोरी गर्दै आएको पाइएको छ । प्रहरीका अनुसार उनीहरुले बन्द अवस्थामा रहेको सटरलाई उठाएर ताला नै नफोडी चोरी गर्दै आइरहेका थिए ।
पछिल्लो एक साता यता मात्रै टीकापुर बजार क्षेत्रका न्यू तनुस्का टेडर्स, भावेश टेडर्स, रितुराज फेन्सी, दुर्गा शाहीको फेन्सी पसल तथा देवनारायण चौधरीको घरबाट चोरी गरेका थिए । प्रहरीका अनुसार बजारका अन्य पसलहरुमा समेत उनीहरुले चोरी गर्ने प्रयास गरिएको बुझिएको छ ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले सटरको ताला नै नफोडी सजिलै उठाएर चोरी गर्ने गिरोहलाई पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद दिएका छन् । ‘लामो समयदेखि यो गिरोह चोरीमा संलग्न भएको देखिन्छ, यसलाई कानुनी कारवाहीका लागि प्रशासनलाई दबाव दिएका छौं’ अध्यक्ष भण्डारीले भने ‘जिल्लाका अन्य क्षेत्रमा समेत यो गिरोह चोरीमा संलग्न भएको हुनुपर्छ ।’
प्रहरीले चोरी भएका पसलहरुको जाहेरी संकलन गरिरहेको बताउँदै घटनामा संलग्नलाई चोरी मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
प्रहरीले उक्त गिरोहबाट चोरीका मोबाइल तथा सामान खरिद गरेको आरोपमा शिविरकै थप दुई जनालाई पक्राउ गरेको छ । सामान खरिद गरेको आरोपमा पक्राउ पर्नेमा प्रकाश परियार र प्रेम वि.क. रहेका छन् । उनीहरुलाई समेत चोरी मुद्दा लाग्ने बताउँदै डिएसपी न्यौपानेले मुद्दा चलाइने बताए ।
रातिको समयमा मुख्य बजार क्षेत्रका विभिन्न पसलहरुमा लगातार चोरी हुन थालेपछि यहाँका व्यवसायीहरु चिन्तित बनेका थिए ।


