Hamro Patra
माओवादीका कार्यकर्तालाई काँग्रेसको क्रियाशिलः वडा नं. ८ का १३ जनाले गरे विज्ञप्ति जारी

 टीकापुर, असार ४

नेपाली काँग्रेस टीकापुर नगरपालिका वडा नं. ८ ले आसन्न अधिवेशनलाई लक्षित गर्दै माओवादी कार्यकर्तालाई काँग्रेसको क्रियाशील सदस्यता दिएको खुलेको छ । काँग्रेसले आफ्नो वेभसाइटमा प्रकाशित गरेको क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेपछि माओवादी कार्यकर्तालाई क्रियाशील सदस्यता दिएको खुलेको हो । नगर कार्यसमितिका उपसभापति शेरबहादुर साउँदले माओवादी कार्यकर्तालाई क्रियाशील सदस्यका लागि सिफारिस गरेका थिए । आफूहरु माओवादी समर्थक रहेको बताउँदै क्रियाशील सदस्यको सूचिमा नाम रहेका १३ जनाले प्रेस विज्ञप्ति जारी गरी आफूहरुलाई कुनै जानकारी विना नै क्रियाशील बनाएको आरोप लगाएका छन् । ‘म लामो समयदेखि माओवादीको कार्यकर्ताका रुपमा कार्यरत छु’ विज्ञप्तिमा हस्ताक्षर गरेका मनोज चौधरीले भने ‘मलाई कुनै जानकारी नै नदिई क्रियाशील सदस्यको सूचिमा नाम आएपछि थाहा पाएँ ।’

काँग्रेसले लामो समयदेखि सक्रिय रहँदै आएका आफ्ना कार्यकर्ता, शुभेच्छुक संघसंस्थाका सदस्य, निवृत्त कर्मचारी लगायतलाई क्रियाशील सदस्यता बनाउने नीति अख्तियार गरेको थियो । पार्टीको आसन्न अधिवेशनलाई लक्षित गर्दै माओवादी कार्यकर्तालाई सदस्यता सिफारिस गरिनु गम्भीर विषय भएको बताउँदै काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ले भने ‘पार्टीको नीति विपरीत क्रियाशील सदस्यता वितरण भएको भए आवश्यक छानविन गरिनेछ ।’ यता, टीकापुर नगरपालिका वडा नं. १ बाट क्रियाशील सदस्यताका लागि सिफारिस भएका ५ शय ८१ जनाको फाराम भने अनलाइन प्रविष्टि नै भएको छैन ।

वडाले आवश्यक प्रक्रिया पुर्याई नगरलाई, प्रदेश समितिलाई र क्षेत्रीय कार्यसमितिलाई फाराम बुझाएको भए पनि क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले अनलाइन इन्ट्री नगरेको वडा सभापति रामचन्द्र शर्मा कट्टेलले बताए । ‘अरु सबै वडाका क्रियाशील सदस्यता सबै इन्ट्री हुँदा १ नम्बरको मात्रै भएका छैनन्’ सभापति कट्टेलले भने ‘प्रक्रिया पुर्याएर वितरण गरिएका सदस्यता पाउनु पर्ने माग गर्दै केन्द्रिय छानविन समितिमा उजुरी गरेका छौं ।’ यता, क्षेत्र नम्बर १ का सभापती भुवनेश्वर अधिकारीले अरु वडामा विवाद नभएको र १ नम्बर वडामा मनोमानी ढंगले सदस्यता दिएकाले आफूले अनलाइन इन्ट्री नगरेको बताएका छन ।

अधिवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विषयलाई लिएर काँग्रेस गुट र उपगुट विभाजित भएको छ । पार्टीका कतिपय शुभेच्छुक भने आन्तरिक चुनावमा हुने विवादले गर्दा स्थानीय र अन्य चुनावमा हार व्यहोर्दै आएको काँग्रेस नसच्चिए फेरि पनि पराजित नै हुनुपर्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update