Hamro Patra
सेवाप्रवाहमा कत्ति पनि कन्जुस्याई नगर्नुः अध्यक्ष चौधरी

टीकापुर, जेठ १०

जानकी गाउँ पालिकाका नवनिर्वाचित अध्यक्ष गणेश चौधरीले नागरिकलाई छिटो छरितो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
आज पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कर्मचारीलाई सो निर्देशन दिएका हुन् ।

समयको व्यवस्थापन र श्रोत साधनको व्यवस्थापन गर्दै जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउने उनले बताए ।

नागरिकसँग मत माग्दा गरिएका प्रतिबद्धताहरु अक्षरसः पालना गर्ने बताउँदै अध्यक्ष चौधरीले गाउँपालिकाको निर्वाचनमा होमिएका सबै दलहरुले समेत सहयोग गर्नुपर्ने बताए ।

‘जानकीमा कोही पनि पक्ष, विपक्ष छैन, सबै मिलेर यो गाउँपालिकालाई बनाउने तर्फ लागौं’ अध्यक्ष चौधरीले भने ‘सबै एउटा टिममा बसेर काम गरे मात्रै नागरिकले सुविधा पाउँछन्, गाउँपालिकाको विकास हुन्छ ।’

अध्यक्ष चौधरीले गाउँपालिकाका उपाध्यक्ष, सबै वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

झण्डै दुई दशक बढी समय पत्रकारितामा बिताएका चौधरी नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update